झापा । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशको आयोजनामा झापाको शिवशताक्षी नगरपालिका–११ मा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रूपमा मनाइएको छ।

आदिवासी जनजाति नेत्रहीन संघ शिवशताक्षी–११ र अबिलिस फाउन्डेसनको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रम “अपाङ्गता समावेशी समाजको प्रवर्धन, सामाजिक उन्नतिको सम्बर्धन” भन्ने मूल नाराका साथ औपचारिक रूपमा सम्पन्न भएको हो।

कार्यक्रमको सभाध्यक्षता नेपाल आदिवासी जनजाति अपाङ्ग संघ कोशी प्रदेशका अध्यक्ष भोजकुमार तामाङले गर्नुभयो भने संघीय लिम्बुवान पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संघका सल्लाहकार सदस्य ज्ञानबहादुर इम्बुङ मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विशिष्ट अतिथिमा कृष्णकुमार थेबे र सुमित्रा  वाङ्गेल चेली उपस्थित रहेकाे थियाे ।

IMG_0092

समारोहमा वक्ताहरूले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका चुनौती, समस्या र आवश्यकता दशकौंदेखि राज्यले गम्भीर रूपमा नलिएको गुनासो गरे।

उनीहरूले सामाजिक, शैक्षिक, आर्थिक र पूर्वाधारगत पहुँच अपांगता भएका नागरिकका लागि अझै पनि अपूरो रहेको बताउँदै समान अवसर, सम्मान र रोजगारी सुनिश्चित गर्न सरकारलाई आह्वान गरे।


1कार्यक्रमका अध्यक्ष भोजकुमार तामाङले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गर्नुपर्ने, साथै अपाङ्ग आयोग गठन गरी अपाङ्गता भएका व्यक्तिका मुद्दा सम्बोधन गर्नुपर्ने माग राखे। उनले राज्यका नीति तथा कार्यक्रमहरूमै अपाङ्गता समावेशीकरणको व्यवस्था नहुँदा समुदायले निरन्तर समस्या भोगिरहनुपरेको बताए।