झापा । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ सञ्चालित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत मेची–महाकाली बुहारी संयुक्त आवाज झापाले गिरिबन्धु टी स्टेट, बिर्तामोड–६ मा कार्यरत महिला चिया श्रमिकलाई सम्मान गर्दै अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य महिला श्रमिकले गर्दै आएको निरन्तर श्रम, उनीहरूको चुनौती र चिया उद्योगमा पुर्याउँदै आएको योगदानलाई समाजमा उजागर गर्नु रहेको आयोजकले जनाएको छ।
झापा जिल्ला संयोजक गंगा भट्टराईका अनुसार विपन्न र सीमान्तकृत महिलाको वास्तविक अवस्थालाई नजिकबाट बुझ्न चिया बगानमै पुगेर कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा चिया कफी श्रमिक युनियनका केन्द्रीय उपाध्यक्ष कुमार राई प्रमुख अतिथि रहेका थिए।
उनले मेची–महाकाली बुहारी संयुक्त आवाजले चिया बगानसम्म आएर महिला श्रमिकको आवाज सुन्ने र उनीहरूको समस्या पहिचान गर्ने पहल प्रशंसनीय रहेको उल्लेख गरे।
अन्तरक्रिया सत्रमा महिला श्रमिकले वर्षौँदेखि भोग्दै आएका समस्याहरू खुलस्त राखे।
महिला श्रमिक टिका प्रसाईले सेवा–निवृत्तिपछिको सेवा शुल्क समयमा नपाइने, महंगीअनुसार ज्याला अत्यन्त कम हुने र कामको उचित मूल्याङ्कन नभएको गुनासो गरिन्।

श्रमिक उषा उप्रेतीले २०६२ सालदेखि चिया टिप्दै आएको बताउँदै महिला–पुरुषको ज्याला बराबर भए पनि सार्वजनिक बिदा जस्ता सुविधा नपाइने उल्लेख गरिन्।
उनले संगठनले कार्यस्थलमै आएर श्रमिकको समस्या सुनेकोमा आभार व्यक्त गरिन्।
कार्यक्रम सञ्चालक तथा जिल्ला सह–संयोजक रोशनी अधिकारी खनालले लैङ्गिक हिंसा महिलामात्रमा सीमित नभई पुरुषमा पनि देखापर्ने समस्या भएको बताइन्।

उनले हिंसा न्यूनीकरणका उपाय र श्रमिक महिलाका अधिकारका विषयमा विस्तृत जानकारी दिइन्।
मेची–महाकाली बुहारी संयुक्त आवाजकी आजीवन सदस्य निर्मला नेपालले उपिस्थत श्रमिकहरुलाई स्वागत गर्दै, संस्थाले १६ दिन मात्र होइन, वर्षभरि नै हिंसा विरुद्धका गतिविधि सञ्चालन गर्दै आएको बताइन्।
उनले महिला श्रमिकबीच बसेर उनीहरूको पीडा र वास्तविकता सुन्न पाउँदा कार्यक्रम विशेष बनेको उल्लेख गरिन्।
कार्यक्रमकी शोभा अध्यक्ष तथा संयोजक गंगा भट्टराईले संस्थापक यमन शर्मा पौडेल र केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको परिकल्पनाले संस्थालाई आजको अवस्थामा पुर्याएको बताइन्।
उनले मासिक १०० रूपैयाँ बचतमार्फत विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएको जानकारी दिइन्। भट्टराईले नागरिकता नपाएर अदालत धाउनुपरेका एक किशोरीको प्रसङ्ग उठाउँदै सबै बुहारीलाई नडराई आफ्ना समस्या राख्न आग्रह गरिन्।
कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजका सदस्य मनिषा ढुंगेल, आजीवन सदस्य निर्मला नेपाल, पत्रकार महासंघ झापा शाखाका सदस्य तथा मोफसल अनलाइनका प्रबन्ध निर्देशक–सम्पादक भरत प्रसाई, चिया बगान कार्यसमितिका प्रतिनिधि र स्थानीय महिला श्रमिकको उल्लेख्य उपस्थिति थियो।
समारोहमा महिला श्रमिकलाई खादा–माला लगाएर सम्मान गरिएको र नास्ता ग्रहण गराइ संगठनसँग केही समय बिताइएको थियो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनसँगै चिया बगानमा कार्यरत महिलाको श्रम र समर्पणको कदर गर्दै यो कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।














