बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं बार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ।
  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा नेवा: पासा मुना पुच: बिर्तामोड नगर अध्यक्ष तथाबिर्तामोड उद्योग वाणिज्य संघका सदस्य दिनेश श्रेष्ठको संयोजनमा नेवार समुदायका युवा युवतीले धिमे बाजा बजाएर स्वागत गरेका थिए। कार्यक्रममा धिमे बाजा बजाउने नेवा: पासा मुना पुच: बिर्तामोडका धिमे बाजा टोलीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

 उक्त प्रशंसापत्र लाखे नाच तथा सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठले ग्रहण गरेका थिए।
   कार्यक्रममा  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले पहिलो पटक बार्षिकोत्सव तथा स्थापना दिवस मनाएको बताए।
     २०३८ सालमा स्व मन्तुराम जलानको अध्यक्षतामा संस्था स्थापना गरेको बताउँदै यस संस्थालाई यो अवस्थासम्म ल्याउने पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको जनाए।

   कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मन्तुराम जलान(मरणोपरान्त ) पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधिरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल,कुमार भट्टराई, बलराम कार्कीलाई सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष मन्तुराम जलान(मरणोपरान्त ) को सम्मान उनका छोरा सजनकुमार जलानले ग्रहण गरेका थिए।
    संस्थाको ४४ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा केक काटीएको थियो।
    कार्यक्रममा द भ्वाइस किड्स सिजन ४ का फस्ट रनरअप फाइनालिष्ट बेस्ट पर्फमर स्मयन बजगाई र सारेगमप लिटल च्याम्स सिजन २ का सेकेण्ड रनर अप संस्कार सापकोटालाई सम्मान गरिएको थियो।
     कार्यक्रममा पूर्व अध्यक्ष चतुर्भूज सरीया ,  उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ,  बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई,  झापाका निमित्त जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा सारेगमप लिटल च्याम्सका सेकेण्ड रनर अप संस्कार सापकोटा, भ्वाइस किड्स सिजन ४ का फस्ट रनरअप फाइनालिष्ट बेस्ट पर्फमर स्मयन बजगाईले गीत प्रस्तुत गरेको संस्थाका बिशिष्ठ सदस्य विपिन बजगाईंले जानकारी दिए।
   कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले बिर्तामोड उद्योग वाणिज्य संघले पहिलो पटक बार्षिकोत्सव सम्पन्न गरेकोमा संघका अध्यक्ष राजु न्यौपानेलाई धन्यवाद दिएका थिए।

उनले जेनजी आन्दोलनले व्यवसायीको मन जलेको बताए। उनले सरकारले अहिलेको युवा पुस्ताले खोजेको उद्योग खोल्न अगाडी बढ्नुपर्ने सुझाव दिए। उनले आर्थिक नीति एउटै बनाउन राजनीतिक दललाई आग्रह गरे।
कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।