काठमाण्डाै – नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट काठमाण्डौ आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
शुरूको समयमा सम्झाइबुझाइ गरेर छाडेका र यो घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउने एसपी भट्टराईले बताउनुभयो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।














