बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) झापाको आयोजनामा बिर्तामोड नगरस्तरीय सांस्कृतिक गायन तथा नृत्य प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिता शनिबार बिर्तामोड नगरपालिका–१० स्थित विष्णु भगवती अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको हो। दुईदिने प्रतियोगिता आइतबार समापन हुने छ।
प्याब्सनको वार्षिक क्यालेन्डर अनुसार यस वर्ष यसअघि खेलकुद महोत्सव तथा ईसिए कार्यक्रम सम्पन्न भइसकेको र सोही कार्यक्रमअन्तर्गत सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यार्थीभित्र लुकेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँदै सक्षम, सुसंस्कृत र सबल समाज निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
बिर्तामोड नगरपालिकाभित्र रहेका ४३ विद्यालयमध्ये १९ वटा विद्यालयको प्रतियोगितामा सहभागिता रहेको अध्यक्ष खरेलले बताउनुभयो।
सभ्य समाज निर्माणका लागि सन्ततिलाई समयानुकूल तयार पार्न यस्ता सिर्जनात्मक कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ।
उद्घाटन कार्यक्रम प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षता तथा बिर्तामोड–१० का वडाध्यक्ष एवं बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वागत मन्तव्य नगर समितिकी कोषाध्यक्ष प्रमिला बजगाईले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगर समितिका सचिव तथा शिक्षक दिपंकर मैनालीले गर्नुभएको थियो।
प्रतियोगिताअन्तर्गत कक्षा ११–१२ का विद्यार्थीबीच गायन प्रतियोगिता, अन्डर–१२ गायन तथा कक्षा १० सम्मका विद्यार्थीबीच नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्याब्सन बिर्तामोड नगर समितिका सह–कोषाध्यक्ष दीपक चम्लागाईंले जानकारी दिनुभयो।
प्याब्सनले हरेक वर्ष विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै फरक–फरक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।
गायन प्रतियोगिताका निर्णायकमा सुमन श्रेष्ठ र विश्वजीत चक्रवर्ती रहनुभएको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने भेषभूषामा सन्देशमूलक गायन तथा नृत्य प्रस्तुत गर्दा कार्यक्रम स्थल भावनात्मक बनेको थियो।
राष्ट्रिय भावनाले ओतप्रोत गीत–संगीतले अभिभावक तथा शिक्षकहरूलाई भावुक बनाएको देखिन्थ्यो।
प्रमुख अतिथि गुरुङले सामुदायिक र संस्थागत विद्यालयबीच विभेद गर्नु नहुने बताउँदै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कारण अभिभावकको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो।
कार्यक्रममाबाल सञ्चार मञ्च झापाका अध्यक्ष तथा अग्रज पत्रकार सरोज पौडेल, एभि न्यूज टेलिभिजनका सन्तोष न्यौपाने, मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, प्याब्सन महाधिवेशन प्रतिनिधि एजाज अहमद अन्सारी,पत्रकार बिष्णु कुल श्रेष्ठ, निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक रञ्जित शाह, इडन गार्डेन अङ्ग्रेजी विद्यालयका प्रधानाध्यापक मोहन आचार्यलगायत विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














