बिर्तामोड। भरत प्रसाई
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा बिर्तामोड नगरस्तरीय सांस्कृतिक गायन तथा नृत्य प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
हिजो शनिबार बिर्तामोड नगरपालिका–१० स्थित विष्णु भगवती अङ्ग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता आज आइतबार समापन भएको हो।

प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीकाे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तिलचन भण्डारीले पानसमा बत्ती बालेर गर्नुभएको थियो।
प्रतियोगितामा नगरभित्रका १९ विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने भेषभूषासहित सांस्कृतिक पहिचान अनुसारका आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वागत प्याब्सन बिर्तामोड नगर कमिटीकी कोषाध्यक्ष प्रमिला बजगाईंले राख्दै सांस्कृतिक प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई धर्म, संस्कृति र नेपाली पहिचान युवापुस्तामा हस्तान्तरण गर्ने गर्विलो माध्यम भएको बताउनुभयो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्याब्सन झापा जिल्ला अध्यक्ष छत्र कार्कीले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा समाज र संस्कृतिसँग बालबालिकालाई घुलमिल गराउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले नेपालका भाषा, संस्कृति, कला र कौशल नै नेपालको पहिचान भएकाले शिक्षासँगै सांस्कृतिक तथा प्रतियोगितात्मक खेलकुद गतिविधिमा प्याब्सन झापा निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि भण्डारीले सामुदायिक र संस्थागत विद्यालयबीच विभेद गर्नु नहुने धारणा राख्दै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अभिभावकको आकर्षण बढ्दै गएको बताउनुभयो।

उहाँले बालबालिकाको अन्तर्निहित प्रतिभा निखार्न यस्ता कार्यक्रमहरू निकै फलदायी हुने भन्दै प्याब्सन झापाले क्यालेन्डर बनाएर निरन्तर आयोजना गर्दै आएका कार्यक्रमहरू प्रशंसनीय र भव्य हुने गरेको उल्लेख गर्नुभयो।
आज सम्पन्न सांस्कृतिक नृत्य प्रतियोगितामा कञ्चन अङ्ग्रेजी विद्यालय प्रथम, चिल्ड्रेन अङ्ग्रेजी विद्यालय द्वितीय र न्युटन अङ्ग्रेजी विद्यालय तृतीय स्थान हासिल गर्न सफल भए।

विजेता विद्यालयका विद्यार्थीहरूलाई प्रमुख अतिथि भण्डारी, प्याब्सन बिर्तामोड नगर समितिका अध्यक्ष खरेल तथा विशेष अतिथि हिसान झापा शाखाका कार्यवाहक अध्यक्ष रूपक खनालले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव दीपंकर मैनालीले गर्नुभएको थियो।
समापन कार्यक्रममा शिक्षक महासङ्घ बिर्तामोड झापाका अध्यक्ष युवराज कट्टेल, न्युटन्स एजुकेसन एकेडेमीका निर्देशक आशिष प्रसाईं, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, पत्रकार सन्तोष बेगा, भरत प्रसाईं, विष्णुकुल श्रेष्ठलगायत विभिन्न शैक्षिक सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।














