बिर्तामोड–१० मा रहेको विष्णु भगवती  अङ्ग्रेजी विद्यालयले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।


विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा राष्ट्रगान पश्चात् राष्ट्र र माटोप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णु दाहाल उप्रेतीले उपस्थित विद्यार्थी तथा अभिभावकहरूलाई स्वागत गर्नुभएको थियो।

स्वागत मन्तव्यका क्रममा उहाँले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो।


कार्यक्रममा कक्षा ७ का विद्यार्थीहरूले शाकेला नृत्य प्रस्तुत गरेका थिए। विद्यालयकी विद्यार्थी आरोही न्यौपानेले मन्तव्य राख्दै आफूले अध्ययन गर्ने विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा पाएको अनुभूति व्यक्त गरिन्।

त्यस्तै सुप्रिया लोहारले “मेरो बाबा सुपरमेन” प्रस्तुत गरिन् भने कक्षा ६ को समूहले “यो बैमानी बोल” गीतमा नृत्य प्रस्तुत गरेको थियो।

सुशान्त अधिकारीले “देशले रगत मागे बल” गीत प्रस्तुत गरेका थिए। कक्षा ७, ८ र ९ का छात्रछात्राहरूले प्याब्सन ग्रुप डान्स प्रस्तुत गर्नुका साथै कराते प्रदर्शनसमेत गरिएको थियो।


प्रधानाध्यापक उप्रेतीले अभिभावकहरूले देखाउनुभएको विश्वासमा विद्यालय प्रशासन सधैं खरो उत्रिने प्रतिबद्धता जनाउँदै गुणस्तरीय शिक्षामा कुनै पनि सम्झौता नगर्ने जिकिर गर्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नवौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयका गतिविधिहरू विद्यार्थीमैत्री रहेकोमा प्रशंसा गर्नुभयो।


उहाँले विद्यार्थीलाई कला, संस्कृति र आफ्नो पहिचानसँग परिचित गराउन विद्यालयले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। साथै बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट टाढा राख्न अभिभावकहरू स्वयं उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो।


विशिष्ट अतिथि प्याब्सन नगर कमिटी अध्यक्ष सुरेन्द्र खरेलले अभिभावकले बालबालिकालाई उनीहरूको रुचिअनुसार गतिविधि गर्न दिए पनि पूर्ण रूपमा स्वतन्त्र छोड्न नहुने धारणा राख्नुभयो।

उहाँले अभिभावक, शिक्षक र विद्यालय प्रशासनको समान जिम्मेवारी रहने बताउँदै सिकाइ अभ्यासमा सबै गम्भीर हुन आग्रह गर्नुभयो।


कार्यक्रममा मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, कञ्चन अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल दीपक चम्लागाईं, बालबालिका सञ्चार मञ्चका संयोजक सरोज पौडेललगायत अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


विभिन्न संस्कृतिहरू झल्कने नृत्य तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत–संगीतले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार लिला अनमोलले गर्नुभएको थियो।