बिर्तामोड, ०२ पुस । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाअन्तर्गत एकाइ नं. २ को साधारणसभा इलामको चुलाचुलीमा भव्य रूपमा सम्पन्न गरेको छ।

चुलाचुली गाउँपालिका–३ स्थित सेमिच्योङ भवनको सभाहलमा आयोजित कार्यक्रममा दमक, केर्खा र चुलाचुली क्षेत्रका शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


a603b5d2-de23-4060-ad1e-1390b685dd70

साधारणसभामा संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य श्रीप्रसाद न्यौपानेले र ऋण उपसमितिको प्रतिवेदन संयोजक तुलसीराम गौतमले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत सबै प्रतिवेदनहरू सभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्।

संस्थागत विकास विभाग प्रमुख वेदप्रकाश दवाडीका अनुसार सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित वार्षिक कार्यक्रम र अनुमानित बजेटलाई पनि अनुमोदन गरेको छ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायत साधारणसभाको कार्यसूचीअनुसारका विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा जानकारी गराउँदै संस्थाका व्यवस्थापक सरोज दाहालले संस्थाको कुल कारोबार दुई अर्ब ३७ करोड १४ लाख ३८ हजार ५२ रुपैयाँ पुगेको बताउनुभयो। हाल संस्थामा ३९ हजार १०५ जना शेयर सदस्य आबद्ध रहेका छन्। संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७ सय रुपैयाँ, बचत संकलन एक अर्ब ७२ करोड ४१ लाख ९८ हजार १९६ रुपैयाँ र ऋण लगानी एक अर्ब ९५ करोड १२ लाख २३ हजार ५८६ रुपैयाँ पुगेको उहाँले जानकारी दिनुभयो।

e933046b-3348-4ce5-9e8e-23079c2390d5

कार्यक्रम चुलाचुली सेवाकेन्द्र सञ्चालन उपसमिति संयोजक जीतबहादुर सुब्बा साँवाको स्वागत मन्तव्यबाट सुरु भएको थियो। अवसरमा दमक सेवाकेन्द्रका संयोजक यमबहादुर अधिकारी र केर्खा सेवाकेन्द्रकी संयोजक सरस्वती सेढाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज दाहालले गर्नुभएको थियो।

मंसिर २९ गतेदेखि सुरु भएको एकाइगत साधारणसभाको कार्यतालिका पुस ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। सबै एकाइगत सभाबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर पुस १० गते अन्तिम माइन्युट प्रमाणीकरण सभा आयोजना गरिने संस्थाले जनाएको छ।