अर्जुनधारा।

युवाहरूमा वाककला, उद्घोषण क्षमता र व्यक्तित्व विकास गराउने उद्देश्यले अर्जुनधाराको शनिश्चरेबाट प्रसारण हुँदै आएको मेरो रेडियो १०५ मेगाहर्जको आयोजनामा सातदिने ‘मेरो आवाज’ उद्घोषण तालिम शुक्रबारबाट सुरु भएको छ।


तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष गिरीले बोल्ने कला सिकेका व्यक्तिहरूमा आत्मनिर्भर बन्ने सम्भावना बढी रहने बताउँदै राम्रो वक्तृत्व क्षमताले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

एआईको युगमा आत्मविश्वास, सचेतता र सीपको सही उपयोग आवश्यक रहेको भन्दै यस्ता तालिमले युवालाई सक्षम नागरिक बनाउन सहयोग गर्ने धारणा राख्दै उनले सहभागीहरूलाई शुभकामना व्यक्त गरे।


मेरो रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईका अनुसार तालिममा स्टेज उद्घोषण, रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तुति, साक्षात्कार कला, व्यक्तित्व विकासलगायत विविध विषयमा प्रशिक्षण प्रदान गरिनेछ। तालिममा युवाहरूको उत्साहजनक सहभागिता रहेको उनले बताए।


रेडियोको तालिम हलमा सञ्चालन भइरहेको उक्त तालिम आगामी पौष ३ गतेसम्म चल्ने स्टेशन प्रमुख दिपक ढुङ्गानाले जानकारी दिए। तालिममा ३० जना प्रशिक्षार्थी सहभागी रहेका छन्।


कार्यक्रम मेरो रेडियोका अध्यक्ष शंकर सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। प्रशिक्षकका रूपमा रेडियोकर्मी दिपक ढुङ्गाना तथा यलम्बर टाइम्सका सम्पादक राजन साम्पाङ रहेका छन्।

कार्यक्रममा कार्यक्रम संयोजक बिमला प्रधानले स्वागत मन्तव्य राखेकी थिइन् भने तालिमको औचित्यमाथि प्रबन्ध निर्देशक भट्टराईले प्रकाश पारेका थिए।

कार्यक्रम सञ्चालन रेडियोकर्मी अश्मी न्यौपानेले गरेकी थिइन्।