शिवसतासी।
विद्यार्थीहरूलाई भाषा, साहित्य, भूगोल तथा पर्यटनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले न्युटन्स एजुकेशन एकेडेमी अन्तर्गत सञ्चालनमा रहेको टुरिजम क्लब तथा उद्घोषण कक्षा लिइरहेका विद्यार्थीहरूलाई पूर्व नेपालको पवित्र धार्मिक तथा पर्यटकीय स्थल शिवसतासी धामको शैक्षिक अवलोकन भ्रमण गराइएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन तथा बालबालिकालाई पर्यटन शिक्षासँग जोड्दै धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिनुभयो।
उहाँले विद्यार्थीहरूलाई पूर्वीय भूगोल, पर्यटन र दर्शनका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।
“पर्यटनबाटै राष्ट्रिय समृद्धि” भन्ने मूल नाराका साथ स्थापना भएको टुरिजम क्लबले बालबालिकालाई पर्यटनसम्बन्धी सूचना, ज्ञान र व्यवहारिक अनुभव प्रदान गर्दै आएको विद्यालयकी शिक्षिका पवित्रा पौडेलले बताउनुभयो।
शिवसताक्षी नगरपालिका –११ मा अवस्थित शिवसतासी धाममा विद्यार्थीहरूले रुद्राक्षको मालाबाट मात्रै निर्मित नेपालकै पहिलो शिवलिङ्ग, शिवसतासी मन्दिर, सतासी धारा, हनुमान मन्दिर, नागस्थान लगायत धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गरेका थिए।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिएको धामले आन्तरिक पर्यटनको सम्भावना र धर्म–पर्यटनबीचको सम्बन्धबारे विद्यार्थीहरूलाई महत्वपूर्ण जानकारी प्रदान गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममान्युटन्स एजुकेशन एकेडेमी विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाई, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मी, बिर्तामोड वडा नं. २ का वडा सचिव हिमा पोखरेल, बालसञ्चार मञ्चका अध्यक्ष तथा उद्घोषण प्रशिक्षक सरोज पौडेल, न्युटन्स अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाई, सञ्चारकर्मी भरत प्रसाई, देव बास्कोटा तथा विष्णु कुल श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जानुका रेग्मीले बालबालिकालाई पर्यटनसँग जोड्दै आफ्नै संस्कृति, धर्म र परम्पराबारे जानकारी गराउने यस्ता कार्यक्रम अत्यन्तै फलदायी हुने बताउनुभयो।
उहाँले न्युटन्स एजुकेशन एकेडेमीले विद्यार्थीमैत्री शिक्षाको उदाहरणीय अभ्यास प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
कार्यक्रमको समापनमा विद्यालयका निर्देशक आशिष प्रसाईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिवसतासी धामको अवलोकन भ्रमणले विद्यार्थीहरूलाई धर्म, संस्कृति र पर्यटनबीचको अन्तरसम्बन्ध बुझ्न महत्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो।
कार्यक्रमको सहजीकरण पत्रकार तथा उद्घोषण प्रशिक्षक सरोज पौडेलले गर्नुभएको थियो। अवलोकन भ्रमणमा टुरिजम क्लबमा आबद्ध तथा उद्घोषण कक्षा लिइरहेका ५० जना छात्रछात्रा सहभागी भएका थिए।
झापाको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूलाई धर्म, संस्कृति, पर्यटन तथा वातावरणीय चेतनाको विकास गर्ने उद्देश्यले यो शैक्षिक अवलोकन भ्रमण आयोजना गरेको हो।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै सामाजिक चेतना र व्यवहारिक सीप विकासमा उल्लेखनीय टेवा पुर्याउने विश्वास लिइएको छ र आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने जनाइएको छ।














