बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाभित्र तोरी तथा विभिन्न बालीमा जथाभावी रूपमा प्रयोग गरिएका विषादीका कारण मौरी तथा अन्य उपयोगी मित्र जीव नष्ट भएको भन्दै बुद्धशान्ति मौरी पालक कृषक समूहले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।
कृषक समूहले कृषि शाखामा बुझाएको निवेदनमा पछिल्लो समय किसानले असावधानीपूर्वक किटनाशक तथा विषादी प्रयोग गर्दा मौरी, परागणमा सहयोग गर्ने मित्र जीव र उपयोगी किराहरू ठूलो संख्यामा नष्ट भएको उल्लेख छ।
यसबाट मौरीपालन व्यवसायमा संलग्न कृषक प्रत्यक्ष रूपमा प्रभावित हुनुका साथै मह उत्पादनमा कमी आएको र लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ।
निवेदनमा मौरी तथा मित्र जीव नष्ट हुँदा कृषि उत्पादन, परागण प्रक्रिया र समग्र वातावरणमा समेत नकारात्मक असर परेको उल्लेख गरिएको छ। मौरी कृषि प्रणालीको अभिन्न अंग भएकाले विषादी प्रयोग गर्दा उचित मात्रा, सही समय र सुरक्षित विधि अपनाउनुपर्नेमा कृषकले पर्याप्त सावधानी नअपनाएको गुनासो गरिएको छ।
समूहले गाउँपालिकासँग जथाभावी विषादी प्रयोग रोक्न,विषादी प्रयोग गर्दा मौरी तथा मित्र जीवलाई असर नपर्ने गरी सावधानी अपनाउन, विशेष गरी मौरी उड्ने समय र फूल फुल्ने अवधिमा विषादी प्रयोग नगर्न,सुरक्षित र सिफारिस गरिएका विषादी तथा जैविक विकल्प प्रयोगबारे स्पष्ट सूचना तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।
कृषक समूहले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्न गाउँपालिकासँग आग्रह गरेको छ ।














