झापा । गुरुङ समुदायको मौलिक तथा मुख्य पर्व तमु लोसार आगामी वर्ष २०८२ को पुष १२ गतेदेखि १५ गतेसम्म झापामा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ।

तमु ह्‍यूल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा सप्रिला ल्हो (सर्प वर्ग) को विदाई तथा गोडा ल्हो (घोडा वर्ग) को स्वागत स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको हो।

तमु लोसार प्रत्येक वर्ष निश्चित दिन पुष १५ गते मनाइने परम्परा रहँदै आएको छ।

पुष १४ गते वर्षको सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने र पुष १५ गतेदेखि क्रमशः रात छोटिँदै र दिन लम्बिँदै जाने मान्यतासँग यो पर्व जोडिएको छ।

बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजमा आपसी सद्भाव, सहअस्तित्व र सांस्कृतिक एकतालाई मजबुत बनाउने उद्देश्यसहित गुरुङ समुदायले तमु लोसार मनाउँदै आएको आयोजकको भनाइ छ।

विक्रम सम्वत प्रचलनमा आउनु अघिदेखि नै गुरुङ जातिमा वर्ष गणनाका लागि ल्हो वा वर्ग प्रणाली प्रयोग हुँदै आएको छ। एक वर्षलाई एक पशु वा पंछीको नाम दिई १२ वर्षपछि पुनः दोहोरिने यो चक्रे प्रणाली ज्योतिषीय राशी प्रणाली जस्तै मानिन्छ।

गुरुङ समुदायको बहुल बसोबास रहेको गण्डकी प्रदेशका गाउँहरूमा ल्होको प्रयोग र उमेर गन्ने परम्परागत पद्धति अझै पनि यथावत रहेको छ।

चारदिने कार्यक्रमअन्तर्गत पुष १२ गते बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित डोमालाल राजवंशी रङ्गशालाको पश्चिमतर्फको खुला मैदानमा गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने गुरुङ समुदायका विशेष परिकार, लोकसंस्कृतिका लोकप्रिय तान्ने नृत्यलगायत विविध सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा करिब ८ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। कार्यक्रम सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

त्यसैगरी पुष १३ र १४ गते प्रत्येक इकाइ समितिको आयोजनामा आ–आफ्नो क्षेत्रमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ। अन्तिम दिन पुष १५ गते सम्बन्धित क्षेत्रका गुम्बाहरूमा धार्मिक, सांस्कृतिक कार्यक्रम, पूजाआजा, स्वास्थ्य तथा शान्ति कामनासहित कार्यक्रम समापन गरिने जनाइएको छ।

कार्यक्रमबारे आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश प्रमुख तथा गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य आनन्द गुरुङले तमु लोसारको ऐतिहासिक, सांस्कृतिक र सामाजिक औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

त्यस्तै झापा–११ का संस्थापक तथा खेलप्रेमी सामाजिक व्यक्तित्व जलकुमार गुरुङले तमु लोसारलाई भव्य रूपमा सफल बनाउन गुरुङ समुदायसहित सम्पूर्ण आम नागरिकलाई सहभागिताका लागि अपिल गर्नुभयो।

उहाँले व्यस्त जीवनशैलीका बीच कम्तीमा एक दिन खुला हृदयका साथ तमु लोसार पर्वमा सहभागी भई सांस्कृतिक उत्सवको आनन्द लिन आग्रह गर्नुभएको छ।

गुरुङ समुदायको पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस वर्षको तमु लोसार कार्यक्रमले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।