बिर्तामोड । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति झापाको २३ औँ वार्षिक साधारणसभा तथा १३ औँ जिल्ला अधिवेशनबाट विनोद सापकोटा पुनः अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्।

झापाको दोमुखामा सम्पन्न अधिवेशनले सापकोटालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी दिएको हो।

अधिवेशनबाट गठित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुमन खनाल, प्रथम उपाध्यक्ष खगेन्द्र गौतम र द्वितीय उपाध्यक्ष सन्तोष बुढाथोकी चयन भएका छन्।

सचिवमा पुनः चन्द्रमणि घिमिरे (चन्द्र) निर्विरोध चयन हुँदा कोषाध्यक्ष पद पनि सर्वसम्मत भएको छ। उपसचिवमा निर्मला भण्डारी यादव चयन भएकी छन्।

त्यसैगरी जिल्ला सदस्यबाट सन्तोष बुढाथोकी र दुर्गा प्रसाद घिमिरे पदाधिकारीमा चयन भएका छन्। सदस्यहरूमा बबिता पौड्याल, सुनिता उप्रेती, प्रदीप कुमार चौधरी, खेमराज श्रेष्ठ, शत्रुघन जैसवाल, विनोद खतिवडा, गौरीप्रसाद चौलागाईं, मनिष खतिवडा, ईश्वरीप्रसाद नेपाल, शंकरप्रसाद पाण्डेय, मिलन चापागाईं र अशोक पोखरेल सर्वसम्मत चयन भएका छन्।


अधिवेशनले लेखा समितिको संयोजकमा मनकुमार चौलागाईं तथा सदस्यमा सोम अधिकारी र मोहनप्रसाद सिटौलालाई चयन गरेको छ।

अध्यक्ष सापकोटाको अघिल्लो कार्यकालमा झापाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा हुने पाठ्यपुस्तकको अव्यवस्थित बिक्री वितरणविरुद्ध महासङ्घले सशक्त आवाज उठाएको थियो। विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री हुने गलत अभ्यास अन्त्यतर्फ महासङ्घले खेलेको भूमिकाका कारण जिल्लामा उक्त प्रवृत्ति क्रमशः नियन्त्रणमा आउन थालेको थियो।

त्यस्तै, लामो समय सुस्त रहेको संगठनलाई सक्रिय बनाउँदै सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तार अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो।

हाल झापा जिल्लामा ३१३ जना पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घमा संगठित हुनु संगठनको महत्वपूर्ण उपलब्धि मानिएको छ।

सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद शिवाकोटी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

उनले दक्ष जनशक्ति उत्पादनमा पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै राज्यले व्यवसायीप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपमहासचिव रामदेव पाण्डे, झापाका पूर्व अध्यक्ष फडिन्द्रराज न्यौपाने, सुनसरी जिल्ला सचिव भीम घिमिरे, प्याप्सन झापाका कोषाध्यक्ष अमृतकुमार तिम्सिना र रिडमोर प्रकाशनका कमल श्रेष्ठलगायतले झापा जिल्ला समितिको कार्यको प्रशंसा गरेका थिए।

अवसरमा महासङ्घले झापाका पूर्व अध्यक्षहरू श्यामकुमार ढकाल, फडिन्द्रराज न्यौपाने र देशबन्धु ढुङ्गेललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष खगेन्द्र गौतमले गरेका थिए भने सञ्चालन सचिव चन्द्रमणि घिमिरे चन्द्रले गरेका थिए। कार्यक्रम संयोजक सुमन खनालले जानकारी दिए।