बिर्तामोड, झापा ।


सभाले सहकारी ऐन, नियमावली तथा नियमनकारी निकायका निर्देशनहरू अनुरूप चालू आर्थिक वर्षका लागि संस्थाको वार्षिक कार्ययोजना र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभामा एकाइगत सभाबाट आएका प्रतिनिधिहरूले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन अनुमोदन गरेका थिए।
सभामा सञ्चालक समिति सदस्य कृष्ण प्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य भगीरथ आलेसहित विभिन्न सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजकहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वर प्रसाद लामिछानेले गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष गौतमले शेयर सदस्यहरूबाट एकाइगत सभामा प्राप्त सुझावहरू नै संस्थाको आगामी यात्राको मार्गदर्शन भएको बताउनुभयो।
उहाँले नियमनकारी निकायको अनुगमन र निर्देशनलाई संस्थागत सुधारको अवसरका रूपमा लिइएको उल्लेख गर्दै सदस्यहरूको बचत सुरक्षा र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो।

१३औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार हाल संस्थामा ३९ हजार १०५ सदस्य आबद्ध छन्।
संस्थाको कुल कारोबार २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ। साथै, सदस्यहरूको राहत तथा सुविधाका लागि एक करोड १० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको विवरण पनि प्रतिवेदनमा समेटिएको छ।
संस्थाका व्यवस्थापक सरोज दाहालले सातवटै एकाइगत सभाको समापनपछि आयोजना गरिएको प्रमाणीकरण सभासँगै १३औँ वार्षिक साधारणसभाका सबै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।
३१ वटा सेवाकेन्द्रलाई सात एकाइमा विभाजन गरी सञ्चालन गरिएको साधारणसभामा कुल सदस्य उपस्थिती ५८.५२ प्रतिशत रहेको संस्थाले जनाएको छ।
झापा, मोरङ र इलामका ३१ वटा सेवाकेन्द्रमार्फत सेवा दिँदै आएको हाम्रो नेपाल साकोसले वर्तमान आर्थिक चुनौतीका बीच पनि सुशासन, पारदर्शिता र वित्तीय अनुशासनका कारण सदस्यहरूको विश्वास जित्न सफल भएको दाबी गरेको छ।














