बिर्तामोड ।
पुर्ख्यौली तथा मौलिक नेपाली पोशाकको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको बिर्तामोड नगरपालिका–५, शनिसरे रोडमा न्यु डिजाइनर सटिङ एण्ड टेलरिङ सेन्टर सञ्चालनमा आएको छ।
दौरासुरुवाल, खाडी, अल्लो तथा अन्य मौलिक नेपाली पोशाकलाई आधुनिक फेसनसँग समायोजन गर्दै प्रयोगकर्तामाझ पुर्याउने लक्ष्यसहित टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक ठूलोराम सुन्दास कमलले जानकारी दिनुभयो।

उहाँका अनुसार लामो समयदेखि जेन्ट्स सुटका क्षेत्रमा काम गर्दै आर्जन गरिएको अनुभव र वर्तमान फेसनको मागलाई ध्यानमा राख्दै नेपाली पोशाकको पहिचानलाई अझ मजबुत बनाउने प्रयास गरिएको हो।
अतिथि सदन जाने सडकखण्डमा अवस्थित यस टेलरिङ सेन्टरमा कोर्ट–पेन्ट, सुट, दौरासुरुवाल, विद्यालय तथा कलेजका पोशाक, विवाहलगायत विशेष अवसरका लागि आवश्यक पर्ने सबै प्रकारका फेसनअनुरूपका कपडाहरू छिटो र निर्धारित समयमै तयार गरिने बताइएको छ।
आधुनिक तथा प्रविधियुक्त मेसिनमार्फत हरेक डिजाइनका सटिङ तथा टेलरिङ सेवा प्रदान गरिने भएकाले एकपटक अवलोकन गर्न सम्पूर्ण सेवाग्राहीलाई आमन्त्रण गरिएको सुन्दासले बताउनुभयो।
उक्त टेलरिङ सेन्टरको उद्घाटन उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष न्यौपानेले उद्योग वाणिज्य संघ सधैं व्यापारी र व्यवसायको हित तथा प्रवर्द्धनमा क्रियाशील रहेको उल्लेख गर्नुभयो।
उहाँले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद आफ्नै देशमा केही गर्ने अठोटसहित व्यवसाय सुरु गरेकोमा सञ्चालक सुन्दासलाई धन्यवाद ज्ञापन गर्नुभयो।
साथै उहाँले भुटानको उदाहरण दिँदै त्यहाँ हरेक नागरिकले राष्ट्रिय पोशाक अनिवार्य रूपमा लगाउने संस्कृतिले राष्ट्रिय पहिचान बलियो बनेको बताउनुभयो।
राष्ट्रिय पोशाकको प्रवर्द्धन गर्ने उद्देश्यले करिब ४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस टेलरिङ सेन्टरका प्रोप्राइटर ठूलोराम सुन्दास कमल र माया सुन्दास रहनुभएको छ।
टेलरिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा स्वागत झापा टेलरिङ व्यवसायी संघका कार्यवहाक अध्यक्ष महेन्द्र दासले गर्नुभएकाे थियाे, भने कार्यक्रमको सहजीकरण टेलरिङ व्यवसायी सुवास त्रिखत्रीले गर्नुभएकाे थियाे ।
सञ्चालनको अवसरमा माघ महिनाभर विशेष छुटको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ।














