बिर्तामोड । भरत प्रसाई

कसैको जीवनमा जमिन केवल माटो हुँदैन — त्यो पसिना हो, स्मृति हो, भरोसा हो।

झापाको बिर्तामोडमा आज त्यही भरोसामाथि प्रश्न उठेको छ — जहाँ राज्यका कागजहरूले एक वृद्ध महिलाको जीवनभरको संघर्षलाई अस्वीकार गरिदिएका छन्।

कुडानु राजवंशी, नाम सानो, तर कथा लामो, उहाँले जीवनभर भोगचलन गर्दै आएको जमिन, उहाँको मृत्युपछि पनि परिवारको आधार बनिरह्यो।

२०३७ सालमा कुडानुको निधन भयो। त्यसपछि जीवनको भारी एक्लै बोकेर हिँड्नुभयो उहाँकी पत्नी जानाकी राजवंशीले। देवरहरू सानै थिए, परिस्थितिले साथ दिएन।

केही समय जमिन त्यत्तिकै बस्यो, केही समय अरूले कमाए। तर जमिनसँगको सम्बन्ध कहिल्यै टुटेन।

समय फेरियो, संघर्ष झन् जटिल बन्यो, कार्की परिवारको नाममा दर्ता रहेको जमिन, तर पुस्तौंदेखि राजवंशी परिवारले जोतेको, रोपेको, जोगाएको।

भूमिसुधारको प्रक्रियाले अन्ततः त्यो सत्यलाई स्वीकार गर्‍यो। २०३८ सालमा भूमिसुधार तथा मालपोत कार्यालय झापाले जानकी राजवंशीको नाममा एक बिघा जमिन दिलायो। अदालतले पनि यही निष्कर्ष निकाल्यो।

त्यो एक बिघा जमिन केवल कानुनी जित थिएन,त्यो जानाकीको जीवनले पाएको सम्मान थियो।तर कथा त्यहीं टुंगिएन,घर बनाउने सपना थियो।

बुढेसकालको ओत चाहिएको थियो, त्यसैका लागि जमिन बिक्री गरियो तर मालपोत कार्यालयको ढोकामा पुग्दा सपनाले कागजी बेडि भोग्नुपर्‍यो।

नक्कली मोही खडा गरिएको आरोप, असम्बन्धित व्यक्तिहरूको धर्ना, नारा, जुलुस, “हामी मोही हौं” भन्ने आवाज, तर भोगचलन नगरेका हातहरू,राज्यको कार्यालय मौन, पीडित परिवार त्रसित, बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा मालपोत कार्यालयको मूल गेटमै धर्ना बस्यो।

एक वृद्ध महिला, एक परिवार, फेरि एकपटक हार्ने अवस्थामा पुग्यो। जानाकी राजवंशी आज एक्लै हुनुहुन्छ। उहाँको रेखदेख भतिजा रामबहादुर राजवंशीले गरिरहेका छन्। तर रेखदेखले मात्र डर मेटिँदैन।

धम्की र त्रास बढेपछि इलाका प्रहरी कार्यालय अनारमनीमा जिउ–ज्यानको सुरक्षाका लागि निवेदन दिनुपर्‍यो।

“हामीले भोगेको जमिन हो, अदालतले दिएको हक हो,” रामबहादुरको स्वरमा आक्रोश छैन, पीडा छ। “तर आज असम्बन्धित मानिसको धर्नाले हाम्रो कानुनी अधिकार रोकिएको छ।

”मालपोत कार्यालयले मङ्सिर १५ गते मोही लगतकट्टा गरेर जग्गा उपलब्ध गराइसकेको थियो।तर पास हुन नपाउँदा त्यो कागज आज पनि अधुरो छ।

यो कथा केवल एक बिघा जमिनको होइन। यो कथा राज्यले कसलाई सुन्छ भन्ने प्रश्न हो। यो कथा पसिनाको मूल्य कागजभन्दा कम हुन्छ कि हुँदैन भन्ने बहस हो।

जानाकी राजवंशी आज न्याय होइन,केवल आफ्नो जीवनभर जोतेको माटोमाथि निश्चिन्त भएर टेकिन पाउने अधिकार मागिरहनुभएको छ।

किनकि जमिन पास नहुँदा केवल कारोबार रोकिएको छैन,एक जीवन फेरि अनिश्चिततामा धकेलिएको छ।