बिर्तामोड, झापा । भरत प्रसाई ,

झापा जिल्ला सहकारी संघको २९औँ वार्षिक साधारणसभा बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा झापाको सहकारी अभियानलाई नयाँ सोचसहित पुनः संरचना गर्नुपर्नेमा जोड दिइएको छ ।

12

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले सहकारी अभियानलाई रिथिङ्क गर्नुपर्ने आवश्यकता औँल्याउँदै झापाका सहकारी संस्थाहरूलाई ब्राण्डिङ र विशिष्टिकरणतर्फ अघि बढाउन आग्रह गर्नुभयो ।

“काठमाडौँपछि राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने क्षमता झापासँग छ,” उहाँले भन्नुभयो, “अब झापालाई सहकारी पर्यटनको केन्द्रका रूपमा विकास गर्ने मोडेल बनाउनुपर्छ ।”

गिरीले एउटै ऋणीलाई अत्यधिक ऋण प्रवाह गर्ने प्रवृत्तिले सहकारीहरू समस्यामा पर्ने गरेको उल्लेख गर्दै जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयाे ।

साथै सहकारीका सदस्यहरूलाई उद्यमशील बनाउने दिशामा कार्यक्रम केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

124578

संघका अध्यक्ष प्रेमकुमार कोइरालाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र०८२ मा संघले २३ लाख २९ हजार ६०६ रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

हाल संघमा ४९३ वटा सहकारी संस्था आबद्ध छन् भने संघको शेयर पूँजी ४ करोड १२ लाख ५१ हजार २०० रुपैयाँ, निक्षेप बचत २१ करोड २२ लाख ३१ हजार ९६४ रुपैयाँ र कुल कोष ८ करोड १८ लाख ३७ हजार २५६ रुपैयाँ पुगेको छ ।

20260102-114658संघले आफ्ना ३२ वटा सदस्य संस्थामा १७ करोड ५६ लाख ८४ हजार ५८० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

ऋण नतिर्ने ६ वटा सहकारीविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा संघको पक्षमा फैसला भएपछि २ वटाले ऋण चुक्ता गरिसकेका छन् भने ४ वटा संस्थाले आंशिक भुक्तानी गरिरहेको जानकारी दिइयो ।

सभामा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहकारीले सहजीकरण गर्नुपर्ने र लाभांशका नाममा अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव दिनुभयो ।

यदि सहकारी मर्यादित रूपमा नचल्ने हो भने राज्यको हस्तक्षेप बढ्न सक्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

03

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडकी उपाध्यक्ष मिना ढकाल र संघका पूर्व अध्यक्ष हरिचरण बानियाँले शुभकामना मन्तव्य राख्दै सहकारी अभियानलाई अनुशासित, पारदर्शी र उत्तरदायी बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

बानियाँले संघको नाममा खरिद गरिएको जमिन उपयोगविहीन रहेको विषयमा सञ्चालक समितिको ध्यानाकर्षण पनि गराउनुभयो ।

साधारणसभामा संघलाई थप गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधि संशोधन र २६ वटा नयाँ नीति निर्माणका प्रस्ताव प्रस्तुत गरिएका छन् ।

साथै चालु आवका लागि २२ वटा नीति तथा कार्यक्रम सभाबाट अघि सारिएको छ ।

बिर्तामोडस्थित सिटी सेन्टरमा सम्पन्न कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको स्वागत मन्तव्यसँगै सुरु भएको थियो भने सचिव भवानीप्रसाद दंगालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।