भद्रपुर, झापा — हालै भएको विमान दुर्घटनामा परेर घाइते भएका ७ जनामध्ये १ जना उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन् भने बाँकी ६ जनाको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचार भइरहेको छ।

उपचाररत घाइतेहरूमध्ये १ जना को–पाइलट रहेको अस्पताल स्रोतले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको र कुनैको पनि गम्भीर जोखिम नरहेको जनाइएको छ। घाइतेहरूको विवरण यस प्रकार रहेको छः

झापा भद्रपुर नगरपालिका–१० निवासी ४० वर्षीय सबिन जोगीको छाती, कम्मर र ढाड दुखेको भए पनि बाहिरी चोट देखिएको छैन।

बिर्तामोड नगरपालिका–७ निवासी २० वर्षीया प्रेसिषा अधिकारीको बायाँ खुट्टा सुन्निएको छ।

बिर्तामोड नगरपालिका–१ निवासी ४२ वर्षीया सुमित्रा जोगीको बायाँ खुट्टा दुखिरहेको छ।

दमक नगरपालिका–१ निवासी २८ वर्षीय कमलप्रसाद कटुवालको दाहिने खुट्टामा सामान्य चोट लागेको थियो, उपचारपछि उहाँ डिस्चार्ज भई घर फर्किनुभएको छ।

काठमाडौं महानगरपालिका–१६ निवासी ४० वर्षीया मुना घतानीलाई टाउको दुख्ने र चक्कर लाग्ने समस्या देखिए पनि बाहिरी चोट छैन।

उहाँसँगै रहेकी १६ वर्षीया प्रिया घतानीको दाहिने घुँडामा चोट लागेको छ।

ललितपुर महानगरपालिका–४ निवासी २४ वर्षीय सुशान्त श्रेष्ठ (को–पाइलट) को अनुहार र टाउकोमा चोट लागेको छ।

अस्पतालका चिकित्सकका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको र आवश्यक उपचार तथा निगरानी भइरहेको छ।