दमक । भरत प्रसाई,  मुन्दुम तथा किरात ज्योतिष शास्त्रका प्रतिपादक, बहुआयामिक शिखर व्यक्तित्व विद्वान रन्धाेज नेम्बाङ रङसाङको १०२औँ जन्मजयन्ती श्री रन्धाेज नेम्बाङ स्मृति प्रतिष्ठानको आयोजनामा विविध कार्यक्रमसहित भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

IMG_4899झापाको दमक–३ स्थित दुम्सेमा आयोजित कार्यक्रममा उहाँको शालिक अनावरण, जीवनीपरक कृति मूल्याङ्कन ग्रन्थ लोकार्पण, विभिन्न विधाका स्रष्टा सम्मान, कवि गोष्ठी तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको हो।

IMG_4639

प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक्थुङ नेम्बाङ समाज नेपालका केन्द्रीय अध्यक्ष प्रियकुमार नेम्बाङ प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा किराँती भाषा, साहित्य, संस्कृति र मुन्दुमको संरक्षणमा योगदान पुर्‍याएका ज्ञात–अज्ञात स्रष्टा तथा सर्जकहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

प्रमुख अतिथि प्रियकुमार नेम्बाङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

IMG_4694

 प्रतिष्ठानकी उपाध्यक्ष बन्दना नेम्बाङले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।उहाँले कार्यक्रमको उद्देश्य, महत्व र रन्धाेज नेम्बाङको योगदानबारे संक्षिप्त तर गहन प्रकाश पार्नुभयो।

उद्घाटनपश्चात् प्रमुख अतिथि प्रियकुमार नेम्बाङ, विशिष्ट अतिथि साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ, दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाई, दमक–३ का वडाध्यक्ष नवीन बराल, पत्रकार मञ्च दमकका अध्यक्ष कमल देवान तथा कार्यक्रमका अध्यक्ष दलबहादुर नेम्बाङले संयुक्त रूपमा विद्वान रन्धाेज नेम्बाङको शालिक अनावरण गर्नुभएको थियो।

शालिक अनावरणसँगै उपस्थित सबैले उहाँप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गरेका थिए।

रन्धाेज नेम्बाङ रङसाङको जन्म विक्रम संवत् १९७४ साल पौष १९ गते पाँचथर जिल्लाको तत्कालीन इमबुङ–२ (हाल याङबोङ–२, थुम निबु) याक्थुङ गाउँमा पिता नारद नेम्बाङ र माता फिपरानी लावती नेम्बाङको कोखबाट भएको हो।

IMG_4680विक्रम संवत् २०१८ साल मंसिर २१ गते मात्र ४४ वर्षको अल्पायुमै उहाँको निधन भए पनि लिम्बु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र मुन्दुमसम्बन्धी ज्ञानलाई दस्तावेजीकरण र संरक्षण गर्ने काममा उहाँले अतुलनीय योगदान पुर्‍याउनुभएको छ।

IMG_4725उहाँले काठका चिपा र गोटीहरूबाट तयार गरिएका ग्रन्थहरू, किरात कुम्मासक वर्णमाला, किरात याक्थुङ ज्योतिष वर्णशाला, प्रथम भित्ते पात्रो, येनलोन लिङ्गयोग कोतुम लगायतका कृति तथा सामसामा मुन्दुम, माङ्गेना सेवा मुन्दुम, माङसेवा चोकमा मुन्दुम, थापासाम थेपमा मुन्दुम, तुमलिङवा याक्थुङ जस्ता हस्तलिखित मुन्दुम पुस्तकहरू तयार गर्नुभएको थियो।

IMG_4872समाजसेवी, शिक्षाप्रेमी, इतिहासकार, साहित्यप्रेमी, शब्दकोषकार, चित्रकार, मूर्तिकार, व्याकरणाचार्य, प्रजातान्त्रिक ज्योतिष योद्धा तथा महागुरु फाल्गुनन्दका सचिवालयमा सचिवका रूपमा समेत उहाँलाई स्मरण गरिन्छ।


IMG_4795विक्रम संवत् १९८८ सालको सत्य धर्म मुचुल्का ‘ली प्याङकन’ निर्माणमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको बताइन्छ।

कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुतीले विशेष स्थान पाएका थिए। साहित्यकार तथा शिक्षाविद् डिपी शर्माले समसामयिक विषयवस्तुमा आधारित व्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभयो।

लिम्बु समुदायको पहिचान बोकेको हाकपारे गीत गायिका गीता नेम्बाङले प्रस्तुत गर्दा सभाहल झुमेको थियो। डा. कमला तामाङले रन्धाेज नेम्बाङको महिमा समेटिएको भावपूर्ण कविता वाचन गर्नुभएको थियो।

साथै, गायक ज्योति खाती र हरि दाहालका गीत तथा मनिषा भट्टराईको नृत्यले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।

IMG_4786कार्यक्रमकै बीच रन्धाेज नेम्बाङ स्मृति प्रतिष्ठानका सचिव तथा चित्रकार हिम्मत नेम्बाङद्वारा लिखित मूल्याङ्कन ग्रन्थको लोकार्पण गरिएको थियो।

ग्रन्थको समीक्षा साहित्यकार तथा सर्जक मनोयोगहाङले गर्नुभएको थियो।

उहाँले २६ जना स्रष्टाका लेख समेटिएको उक्त पुस्तकले किराँती सभ्यता, संस्कार र रन्धाेज नेम्बाङको योगदानबारे युवा पुस्तालाई जानकारी गराउने महत्वपूर्ण दस्तावेज बनेको बताउनुभयो।

ग्रन्थ प्रभावशाली भए पनि केही लेख अत्यधिक प्रशंसात्मक हुँदा आलोचनात्मक दृष्टिकोण कमजोर देखिएको तथा सम्पादनमा कतिपय स्थानमा दोहोरिएको पाइएको उहाँको टिप्पणी थियो।

तथापि, नेपाली तथा लिम्बुवान साहित्यको ऐतिहासिक दस्तावेजका रूपमा पुस्तकको महत्व अत्यन्तै उच्च रहेको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा विभिन्न विधामा स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

खोजमूलक लेखन तथा साहित्यतर्फ मलिसा याक्थुङ्वा, ललितकला मूर्तिविधातर्फ ज्ञानोदय लावती, साहित्य अनुवाद विधातर्फ डा. कमला तामाङ, साहित्य विधातर्फ गौरी नेम्बाङ, समन्वयकर्ता लेखन तथा सञ्चार विधातर्फ देवीलाल प्रधान र याक्थुङ लिम्बु भाषा साहित्य विधातर्फ तेजमान सुब्बालाई सम्मान प्रदान गरिएको थियो

IMG_4647

सम्मानितहरूको तर्फबाट डा. कमला तामाङले मन्तव्य राख्दै भाषा, लिपि र किराँती सभ्यताको संरक्षण र संवर्द्धनमा रन्धाेज नेम्बाङ स्मृति प्रतिष्ठानले गर्दै आएका काम भावी पुस्ताका लागि अमूल्य दस्तावेज बन्ने बताउनुभयो।

उहाँले रन्धाेज नेम्बाङ एक नाम मात्र नभई बहुमुखी प्रतिभाका धनी युगपुरुष भएको उल्लेख गर्दै, उहाँको देहान्तपछि झन्डै ६५ वर्षपछि मात्रै उहाँको जीवन र योगदान व्यवस्थित रूपमा सार्वजनिक हुनुमा नाती हिम्मत नेम्बाङसहित प्रतिष्ठानको योगदान अद्वितीय रहेको धारणा राख्नुभयो।

IMG_4815

साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठले मन्तव्यका क्रममा श्री रन्धाेज नेम्बाङ स्मृति प्रतिष्ठानले किराँती भाषा, साहित्य र मुन्दुमको संरक्षण तथा प्रवर्द्धनमा अत्यन्तै ठूलो अभियान सञ्चालन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिई नेपालभरि फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

IMG_5027

दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाईले रन्धाेज नेम्बाङले धर्म संरक्षणसँगै समाज सुधारमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै झापा, इलाम मात्र होइन देशभरिका मानिसहरूले उहाँलाई श्रद्धापूर्वक सम्झिने गरेको धारणा व्यक्त गर्नुभयो।

दमक–३ मा निर्माण गरिएको शालिक भावी पुस्ताका लागि ऐतिहासिक धरोहर भएको भन्दै यसको संरक्षणमा नगरपालिकाले अपनत्व लिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

वडाध्यक्ष नवीन बरालले आफ्नो भाषा र पहिचानलाई बिर्सँदा अस्तित्व नै संकटमा पर्ने भएकाले सबैले आफ्नो पहिचानको संरक्षण आफैँबाट सुरु गर्नुपर्ने सन्देश दिनुभयो।

IMG_5017

प्रमुख अतिथि प्रियकुमार नेम्बाङले रन्धाेज नेम्बाङ आफैँमा महागुरु फाल्गुनन्दकै स्थानसम्म पूजनीय व्यक्तित्व भएको उल्लेख गर्दै किरात लिपि, मुन्दुम र ज्योतिष शास्त्र प्रतिपादनमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो।

उहाँले यस्ता व्यक्तित्वको सम्मान र स्मरणले किराँती सभ्यता र पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा तारामान भुजेल, कवि सुन्दर कुरूप, साहित्यकार विवस बलिभद्र, विष्णु न्यौपाने, धनकुटे कान्छा, लोकगायक अनिरुद्र ओली, वरिष्ठ आख्यानकार राजेन्द्र संग्रौला, पत्रकार तथा सम्पादक भरत प्रसाई, पत्रकार डिकेश लामा, गिरिराज भट्टराई, ज्ञानोदय लावती, तेजमान सुब्बा, साहित्यकार देवीलाल प्रधान, पेभाकुम नेम्बाङ समाज नेपालका अध्यक्ष चन्द्रवीर नेम्बाङ, साहित्यकार  डिपी शर्मा,साहित्यकार तथा सर्जक एनबी दाहाल,सर्जक कृष्ण सुवेदी निराकार, स्मृति प्रतिष्ठानका सल्लाहकार संयोजक डम्बरसिंह नेम्बाङ लगायत नेपाल तथा भारतका साहित्यकार, चित्रकार, गायक–गायिका र भाषाविदहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यतिर गायिका गीता नेम्बाङले प्रस्तुत गरेको लिम्बु भाषा हाकपारे गीतमा अतिथि तथा सहभागीहरू नाच्दै झुमेपछि समारोह अझ स्मरणीय बनेको थियो।

यसरी, विद्वान रन्धाेज नेम्बाङ रङसाङको १०२औँ जन्मजयन्ती श्रद्धा, सम्मान, सिर्जना र विमर्शको संगम बनेर अत्यन्तै प्रभावशाली, पठनयोग्य र ऐतिहासिक कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चान प्रतिष्ठानका सचिव हिम्मत नेम्बाङले गर्नुभएको थियो ।