कोभिड–१९ ले आक्रान्त बनेको नेपाल र प्रताडित जनताको घरदैलोमै पुगेर राहत पुर्याउन सफल ‘एकका लागि एक’ अभियान आज सामाजिक एकता र निस्वार्थ सेवाको सशक्त उदाहरणका रूपमा स्थापित भएको छ।
एकका लागि एक तथा एक थुकी सुकी, सय थुकी नदी भन्ने नारासहित झापाबाट सुरु भएको यो अभियानले संकटका बेला नागरिकस्तरको सहकार्यले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश राष्ट्र र सरकारसमक्ष प्रस्तुत गरेको छ।
झापाको बिर्तामोडस्थित होटल हेवनमा आयोजित विशेष कार्यक्रममा विपतका समयमा सहयोग गर्ने दाता तथा संस्थाहरूलाई सम्मान गरिएको छ।
२०७७ सालमा झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको परिकल्पनामा स्थापना भएको अभियान छोटो समयमै राष्ट्रकै नमुना सामाजिक अभियानका रूपमा परिचित हुन पुगेको हो।
अभियानले झापाको कन्काईमा पीसीआर ल्याब स्थापनाका लागि जनस्तरबाट १ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई हस्तान्तरण गरेको थियो। कोभिडको पहिलो र दोस्रो लहरमा जिल्लाका २५ हजारभन्दा बढी अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो।
दोस्रो लहरमा अक्सिजनको चरम अभाव हुँदा अभियानले १ करोड २० लाख लागतको अक्सिजन बैंक स्थापना गरी सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको दिगो समाधानका लागि ५ करोड रुपैयाँको दिगो विपत् कोष निर्माण गर्ने लक्ष्यसहित अभियानलाई थप तीव्र बनाइएको छ।
अभियानको सबैभन्दा सकारात्मक पक्ष भनेको एक लाखभन्दा बढी दाताको सहभागिता हो। एक रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म सहयोग गर्ने दाताको विश्वासकै कारण अभियानले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको संयोजक गिरीले बताउनुभयो।
झापाका सहकारी, निजी व्यवसायी, अन्तर्राष्ट्रिय झापाली समाजलगायत विभिन्न संघ–संस्थाको सहकार्यले अभियान अझ मजबुत बनेको छ।

हालैको मनसुनजन्य विपत्तिमा पनि अभियानले गौरीगञ्ज, शिवसताक्षी र झापा गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा करिब ५० लाख रुपैयाँ बराबरको खाद्यान्न, सरसफाइ सामग्री तथा लत्ताकपडा तत्काल वितरण गरेको थियो।
सरकारी राहत ढिलाइ भइरहँदा अभियानका स्वयंसेवकहरू पीडितको आँगनमै पुगिसकेका थिए।

कार्यक्रममा विपत् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवालगायत क्षेत्रमा योगदान पुर्याउने ४४ भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
सम्मान सिफारिस समितिका संयोजक महेन्द्र गिरीले तयार पारेको प्रतिवेदनका आधारमा सम्मान गरिएको जनाइएको छ।

सम्मानित हुनेहरूमध्ये नेपाल सरकारका सहसचिव तथा झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे, विभिन्न सामाजिक संघसंस्था, सहकारी, रोटरी, लायन्स, जेसीज, इनरह्विल, रोट्र्याक क्लबका प्रतिनिधिहरू, स्वास्थ्य, शिक्षा तथा व्यवसाय क्षेत्रका व्यक्तित्वहरू रहेका छन्।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा अभियानका सदस्य एकराज गिरीले गर्नुभएको थियो।
सशस्त्र प्रहरी बल (अरिदमन गण, चारआली )का गणपति सरोज थापा विशिष्ट अतिथि रहनुभएको थियो भने झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल प्रमुख अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि गेलालले विपतमा एकले अर्कालाई सहयोग गर्ने निस्वार्थ भावले स्थापना भएको अभियानको प्रशंसा गर्दै, दर्ता तथा आधिकारिकता प्राप्त गरी जिल्ला प्रशासनसँग सहकार्य गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
अभियानका संयोजक महेन्द्रकुमार गिरीले आर्थिक आय–व्यय सार्वजनिक गर्दै अभियानलाई निरन्तर साथ दिने सम्पूर्ण दाता तथा संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले अक्सिजन बैंक सञ्चालन निरन्तर रहेको र विपत् व्यवस्थापनका लागि नयाँ योजना तथा छलफलहरू अगाडि बढिरहेको जानकारी दिनुभयो।
समग्रमा, ‘एकका लागि एक’ अभियान संकटको घडीमा नागरिक एकताले कस्तो चमत्कार गर्न सक्छ भन्ने जीवित उदाहरण बनेको सहभागीहरूको भनाइ छ।














