मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन गइरहेको इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगितासम्बन्धी जानकारी दिन आज मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमार्फत प्रेस क्लब मेचीनगरले मिडिया कपलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न आधा दर्जनभन्दा बढी संघ–संस्थासँग सहकार्य भइसकेको जानकारी दिएको छ। प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलका अनुसार पुस १५ गतेसम्म विभिन्न संघसंस्थासँग औपचारिक सम्झौता सम्पन्न भइसकेको छ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्षहरू तथा अग्रज पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष पौडेलले मिडिया कपले नेपाल र भारतबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले पत्रकारहरूले कलममार्फत मात्र होइन, खेलकुदका माध्यमबाट पनि समाजमा सकारात्मक र रचनात्मक योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न मिडिया कप आयोजना गरिएको स्पष्ट पार्नुभयो।
उहाँले प्रतियोगितामा गैरपत्रकारलाई सहभागी नगराइने र आवश्यक निरीक्षण तथा सुपरिवेक्षणपछि मात्र खेलमा सहभागिता गराइने जानकारी दिनुभयो।

त्यसका लागि सहभागी हुने सबै प्रेस क्लबहरूलाई पत्रकारहरूको आधिकारिकता खुल्ने गरी परिचयपत्र अनिवार्य रूपमा पेश गर्न अनुरोध गर्नुभयो।
कार्यक्रमको सञ्चालन प्रेस क्लब मेचीनगरका सचिव प्रविन अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका वर्तमान तथा पूर्व अध्यक्षहरूले संयुक्त रूपमा मिडिया कप २०८२ को सार्वजनिकरण गर्नुभएको थियो।
यस अवसरमा झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतले पत्रकारहरूले फुटबल खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले पत्रकारहरू आफैं मैदानमा उत्रिएर फुटबलप्रति जनचासो बढाउने कार्य सराहनीय भएको बताउनुभयो।
पुस २७ र २८ गते आयोजना हुने मिडिया कपमा नेपाल र भारतका गरी आठवटा पत्रकार टिमको सहभागिता रहनेछ। प्रतियोगितामा झापा जिल्ला फुटबल संघले प्राविधिक सहयोग प्रदान गरेको छ।
यसअघि प्रतियोगिताको लोगो सार्वजनिक गरिसकेको प्रेस क्लब मेचीनगरले आज खेलतालिका पनि सार्वजनिक गरेको छ। खेल मैदान सम्याउनेलगायत सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिनुभयो।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछ।
सञ्चारको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो पटक मिडिया कप आयोजना गरिएको प्रेस क्लब मेचीनगरले जनाएको छ।














