झापा । निजी तथा आवश्य विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) झापा शाखाले आगामी पौष २४ गते बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा आफ्नो ३५औँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार यस वर्षको स्थापना दिवसको मुख्य आकर्षण सांस्कृतिक प्रतियोगिता र गायन प्रतियोगिता रहनेछ। कार्यक्रममा झापा जिल्लाका १४ वटै पालिकाबाट विद्यार्थीहरूको सहभागिता रहनेछ।

सांस्कृतिक प्रतियोगिताअन्तर्गत सामूहिक नृत्य, सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य तथा गायन समावेश छन्। गायनतर्फ १२ वर्ष मुनिका बालबालिकाका लागि छुट्टै, १२ वर्ष माथिका विद्यार्थीका लागि छुट्टै, साथै कक्षा ११ र १२ का विद्यार्थीका लागि विशेष गायन प्रतिस्पर्धा तय गरिएको छ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा योगदान र विशिष्टताका आधारमा जिल्लाभरिबाट एक–एक जना संस्थापक तथा वरिष्ठ शिक्षकहरूलाई सम्मान गरिनेछ। यसक्रममा संस्थापक प्रिन्सिपल गणेशप्रसाद ओली, धरणी रस मैनाली र प्रभुकुमार श्रेष्ठलाई सम्मान गरिने भएको छ। त्यसैगरी स्वर्गीय नरेशमान धिमाल र मुक्तिदाललाई सम्मानपत्र प्रदान गरिनेछ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकालाई उत्कृष्ट पालिका पुरस्कार प्रदान गरिनेछ भने एक जना पत्रकारलाई पनि सम्मान गरिनेछ। साथै शैक्षिक सत्र २०८१ मा चार जीपीए प्राप्त गर्ने १५ जना विद्यार्थीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिनेछ।
प्रतियोगितामा हजारौँ विद्यार्थी सहभागी हुनेछन्। विवरणअनुसार पालिकास्तरबाट छनोट भई गायन प्रतियोगितामा ४२ जना, शास्त्रीय नृत्यमा १४ जना र सांस्कृतिक नृत्यमा २१० जना विद्यार्थी सहभागी हुनेछन्। समग्रमा झापाका ४ हजार २७७ विद्यार्थी विभिन्न चरणका प्रतिस्पर्धामा सहभागी भएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य प्रायोजक अलसका मोटर्स रहेको छ भने कंगारु एजुकेसन र बिएनसी मेडिकल कलेज सह–प्रायोजकका रूपमा रहेका छन्। कार्यक्रमका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ। हाल झापामा ३१९ विद्यालय प्याप्सनसँग आबद्ध रहेका छन्।
प्याप्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सदस्य विद्यालयका विद्यार्थीहरूलाई समेट्दै मङ्सिर २२ गतेदेखि पौष ५ गतेसम्म १४ वटै पालिकामा पालिकास्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भइसकेको छ।
ती कार्यक्रमअन्तर्गत सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य, कक्षा ११–१२ का गायन, १२ वर्ष मुनिका तथा १२ वर्ष माथिका विद्यार्थीका गायन प्रतिस्पर्धा सम्पन्न भइसकेका छन्।
पौष २४ गते हुने मूल कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने र यसले प्याप्सन आबद्ध सम्पूर्ण विद्यार्थीलाई एकजुट गर्दै झापा जिल्लाको सांस्कृतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।














