झापा — निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले निर्वाचन सुरक्षाका लागि झापामा ठूलो संख्यामा जनशक्ति भर्ना खुलाएको छ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका लागि जिल्लामा ४ हजार ७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकिएको जानकारी दिएको हो।


सूचना अनुसार इच्छुक उम्मेदवारले पुस २५ गतेदेखि माघ ‘ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दरखास्त दिन सक्नेछन्।

दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय, झापा तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा., झापाबाट प्राप्त गरी सोही स्थानमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।


निर्वाचन प्रहरीमा भर्ना हुनका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको तथा भर्ना अवधिमा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

त्यसैगरी उम्मेदवार शारीरिक तथा मानसिक रूपमा स्वस्थ, आतङ्ककारी वा विध्वंसात्मक संगठनसँग आबद्ध नरहेको हुनुपर्ने योग्यता तोकिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, ३१–३३ इन्च छाती र ५० केजी तौल तथा महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ केजी तौल अनिवार्य गरिएको छ। महिलाका हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ।