अर्जुनधारा भरत  प्रसाई 

झापाको अर्जुनधारा  नगरपालिका –६ मा रहेको बालकल्याण आधारभूत विद्यालयले २५ वर्ष पूरा गरेको अवसरमा रजत वर्ष २०८२ को लोगो सार्वजनिक गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र बास्तोला प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

collage 2कार्यक्रममा विद्यालयको २५ औँ रजत महोत्सवको लोगो प्रमुख अतिथि बास्तोला, विद्यालय अभिभावक संघका अध्यक्ष पुण्य भेटवाल, आर्थिक उपसमितिका संयोजक गोपाल चुडाल लगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो।

1247777777777777सार्वजनिक गरिएको लोगोमा २५ वटा तारा, विद्यालय र परिवारको जोडीको चित्र तथा ‘२५’ अंक समावेश गरिएको छ, जसले विद्यालयको २५ वर्षे शैक्षिक यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष हरिश्चन्द्र बास्तोलाले भौतिक संरचना मात्रैले विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव नहुने उल्लेख गर्दै गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले विद्यालयले सञ्चालन गर्ने प्रत्येक कार्यक्रम तथा गतिविधिमा शिक्षक र कर्मचारीको अनिवार्य उपस्थिति हुनुपर्नेमा जोड दिँदै अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको त्रिपक्षीय सहकार्यले मात्रै गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।

२०५७ सालमा शिक्षासेवीहरूको मुष्टिदानबाट स्थापना भएको बालकल्याण आधारभूत विद्यालयले रजत वर्षको अवसरमा एक वर्षभरि विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

विद्यालयले नगरभित्रका १९ वटा आधारभूत विद्यालयलाई समेटेर नगरस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने, प्रत्येक शुक्रबार सांस्कृतिक तथा गायन प्रतियोगिता सञ्चालन गर्ने, आँखा शिविर र योग शिविर आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

यसका साथै २०५७ सालदेखि २०८२ माघ २७ गतेसम्म विद्यालयले गरेका शैक्षिक तथा अतिरिक्त गतिविधिहरू समेटेर २०८२ चैत मसान्तभित्र रजत स्मारिका प्रकाशन गरिने विद्यालयले जनाएको छ।

विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयले खाता–कपी, जुत्ता–चप्पल वितरण लगायतका कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

हाल विद्यालयमा १३ जना शिक्षक तथा कर्मचारी दरबन्दीमा कार्यरत छन् भने १८० जना विद्यार्थी अध्ययनरत छन्।

Dambar-Yadav-Head-teacher-of-BKAB

यस वर्षदेखि विद्यालयमा कक्षा ८ सम्म पठनपाठन सञ्चालनमा आएको छ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईले सबैको सहयोग र सहकार्यमा रजत महोत्सव भव्य, सभ्य र सफल रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले विगतलाई सम्झँदै सुरुमा बासझ्याङको छेउमा सानो डिलमा लिपपोत गरिएको चित्रामा पठनपाठन हुने अवस्थाबाट आजको अवस्थामा आइपुग्नुमा शिक्षक, अभिभावक, स्थानीयवासी र शिक्षाप्रेमी सबैको योगदान उल्लेखनीय र अभूतपूर्व रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक डम्बर यादवका अनुसार आगामी माघ २७ गते विद्यालयको रजत वार्षिक उत्सव मनाउने तयारी भइरहेको छ।

त्यसका लागि १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने अतिथि सत्कार, प्रतिवेदन लेखन, सरसफाइ, सांस्कृतिक, बगैंचा व्यवस्थापन, प्रचारप्रसार, खेलकुद र आर्थिक उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

रजत वर्षका कार्यक्रम तथा प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको पनि प्रधानाध्यापक यादवले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका सल्लाहकार समिति संयोजक तथा निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, शिक्षक मदन पाण्डे, अभिभावक संघका अध्यक्ष पुण्य भेटवाल, स्थानीय अभिभावक, शिक्षक–शिक्षिका, विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मदनकुमार निरौलाले गर्नुभएको थियो।