बिर्तामोड ।भरत प्रसाई ,
स्थानीय अगुवा व्यवसायी तथा सर्वसाधारण नागरिकको संयुक्त पहलमा झापाको बिर्तामोड–४ मा निर्माणाधीन नागरिक अस्पताल अन्तिम चरणमा पुगेको छ ।
वि.सं २०७७ सालमा १२–१५ जना सचेत नागरिकको अग्रसरतामा ११ कट्ठा जग्गा २५ वर्षका लागि भाडामा लिएर निर्माण सुरु गरिएको उक्त अस्पतालले छिट्टै पूर्णता पाउने भएको हो ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन हुन लागेको नागरिक अस्पतालबारे आज अस्पतालकै भवनमा आयोजित संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सवका अवसरमा जानकारी गराइएको हो ।
साना तथा मध्यम वर्गका नागरिकहरू महँगो उपचार खर्चका कारण स्वास्थ्य सेवा पाउन छटपटिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल स्थापना गरिएको जनाइएको छ ।
बिर्तामोड क्षेत्रमा बिएनसी अस्पताल, कन्काई मनमोहन अस्पताल, बिर्ता सिटी अस्पताल, मेची आँखा अस्पताल, नगर अस्पताल, आधार, सञ्जीवनी, कञ्चनजङ्घा मोडेल अस्पतालजस्ता स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहे पनि ती अस्पतालहरू सधैं बिरामीको भीडले भरिभराउ रहने गरेका छन् ।
यस्तो अवस्थामा सहकारी मोडलमा सञ्चालन हुन लागेको नागरिक अस्पतालले बिर्तामोड तथा आसपासका क्षेत्रका बिरामीहरूलाई केही राहत दिने अपेक्षा गरिएको छ ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष युवराज दाहालले निर्माण कार्यलाई तीव्रता दिइँदै वैशाखदेखि अस्पताललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालका अनुसार २०८२ असार मसान्तसम्म संस्थामा २७४ जना सेयर सदस्य रहेका छन् भने सेयरबाट ३ करोड ७१ लाख ५३ हजार रुपैयाँ सङ्कलन भइसकेको छ ।
अस्पताल सञ्चालनका लागि अझै करिब ३ करोड रुपैयाँ आवश्यक पर्ने भएकाले सेयर सदस्य थप गर्न बिर्तामोड नगरवासीलाई अपिल गरिएको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष जीवनकुमार खड्काले स्वागत मन्तव्यसहित कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थापक अध्यक्ष बलराम कार्कीले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकले सहज रूपमा उपचार पाउन सक्ने वातावरण निर्माण गर्न व्यवस्थापन समिति निरन्तर जुटिरहेको बताउनुभयो ।
नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोरङ सहकार्य अस्पतालका कार्यकारी निर्देशक विकास अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
उहाँले समुदायको एकताबाट बिर्तामोडमा नागरिक अस्पताल निर्माण अन्तिम चरणमा पुग्नु सुखद उपलब्धि भएको उल्लेख गर्दै अस्पताल छिट्टै सञ्चालनमा आउनेमा आशावादी रहेको बताउनुभयो ।
साथै, आफूले स्वास्थ्य क्षेत्रमा भोगेका अनुभवहरू नागरिक अस्पतालको विकास र उन्नतिमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी राजकुमार पोखरेलले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको सहकार्य र सहभागिताबाट नागरिक अस्पताल झापाकै नमुना अस्पतालका रूपमा विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य सेवा व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको उल्लेख गर्दै नागरिक अस्पतालले सामूहिक लगानी, नागरिक चेतना र समुदायको एकताको सशक्त उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो ।
पाँचौँ वार्षिक उत्सवमा बालरोग विशेषज्ञ डाक्टर टंकप्रसाद बाराकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व उपसचिव मुक्ति खनाल, अन्य अतिथिहरूले नागरिक अस्पतालले दिने सेवा, यसका चुनौती र समाधानका उपायबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मोहन ढकाल, अग्रज व्यवसायी वेदप्रसाद अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलालगायत स्थानीयवासी,स्वास्थ्यकर्मी,सामाजिक तथा राजनीतिक व्यक्तित्व, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, व्यवसायी, सर्वसाधारण र सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नागरिककै पहलमा निर्माण भइरहेको नागरिक अस्पतालले बिर्तामोडसहित आसपासका ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाको आशा दिलाएको छ ।














