मुटुरोग पीडित १३ महिनाका बालकलाई नगद र लत्ता–कपडा सहयोग**
उर्लाबारी (मोरङ) ।
जन्मसँगै मुटुको भलमा समस्या देखिएर गम्भीर मुटुरोगसँग संघर्ष गरिरहेका उर्लाबारी नगरपालिका–६, हललाइन निवासी विदुर आले मगर र गोमा मगर सरिताका १३ महिनाका छोरा नेल्सन आले मगरको जीवन बचाउन मेची महाकाली बुहारी संयुक्त आवाज मानवीय भावनासहित अघि सरेको छ।
आर्थिक रूपमा अत्यन्त विपन्न परिवारमा जन्मिएका नेल्सनको उपचारका लागि ठूलो रकम आवश्यक परिरहेको अवस्थामा संस्थाले आफ्नो ‘मासिक सय बचत अभियान’ मार्फत संकलित रकमबाट १९ हजार रुपैयाँ नगद सहयोग र ८ हजार रुपैयाँ बराबरको लत्ता–कपडा बालक र उनकी आमालाई हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रम उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सम्पन्न भएको थियो।
उक्त घरको एक कोठामा नेल्सन आफ्ना बुवाआमासँग जीवन निर्वाह गर्दै आएका छन्।
कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको प्रमुख आतिथ्यतामा तथा झापा जिल्ला संयोजक गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले सहयोग रकम सानो भए पनि यसको प्रभाव अत्यन्त ठूलो हुने बताउनुभयो।
“यो सहयोग रकम सानो जस्तो देखिएला, तर यही सानो सहयोगले कसैको जीवन बचाउनमा ठूलो भूमिका खेल्न सक्छ,” उहाँले भन्नुभयो।
मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला कमिटी र सय बचत अभियानमा आबद्ध बुहारीहरूको सानो–सानो योगदान जोडिँदै यो रकम सङ्कलन भएको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले जाडोको कठ्यांग्रिने समयमा बालक र आमालाई न्यानो दिने उद्देश्यले करिब ८ हजार मूल्य बराबरको लत्ता–कपडा पनि हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
“थोपाथोपा मिलेर समुन्द्र बनेझैँ, मेचीदेखि महाकालीसम्म छरिएर रहेका बुहारीहरूको सानो सहयोग जोडिँदा आज नेल्सनका लागि आशाको एउटा उज्यालो बनेको छ,” काफ्लेले भावुक हुँदै भन्नुभयो।
आमाको पीडाबारे बोल्दै उहाँले अत्यन्त मार्मिक अभिव्यक्ति दिनुभयो।

“आमाले नौ महिना गर्भमा सन्तान बोकेर असह्य पीडा सहँदै जन्माउँछिन्। तर त्यही सन्तान आफ्नै आँखाअगाडि गुमाउनु पर्दाको पीडा प्रसूति पीडाभन्दा पनि कठोर हुन्छ,” उहाँले भन्नुभयो।
यही मानवीय संवेदनाका कारण संस्थाले जसरी भए पनि बालकको जीवन बचाउन सहयोग गर्ने निर्णय गरेको काफ्लेले स्पष्ट गर्नुभयो।
उहाँले आउँदा दिनमा पनि संस्थाले आफ्नो क्षमताअनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एक फरक प्रसङ्ग जोड्दै अध्यक्ष काफ्लेले नागरिकता नभएका कारण पढ्नबाट वञ्चित एक बालिकालाई मेची महाकाली बुहारी संयुक्त आवाजले न्याय दिलाएको उदाहरण प्रस्तुत गर्नुभयो।
“हामी महिला होस् या पुरुष, जो कोही पीडामा परेका छन् भने उनीहरूको पक्षमा बोल्छौँ, न्यायका लागि लड्छौँ र न्यायको मार्ग देखाउने अभियानका साथ अघि बढिरहेका छौँ,” उहाँले दृढतापूर्वक बताउनुभयो।
कार्यक्रमकी अध्यक्ष तथा झापा जिल्ला संयोजक गङ्गा भट्टराईले आर्थिक संकट र निराशाले थिचिएको परिवारमा सानो सहयोगले पनि ठूलो राहत र बाँच्ने आशा जगाउने बताउँदै ‘नानी बचाउ अभियान’ लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उर्लाबारी नगरपालिका–६ का वडा सदस्य बमबहादुर श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो। उहाँले गम्भीर मुटुरोगबाट ग्रसित बालकको जीवन बचाउने पुण्य उद्देश्यका साथ अघि बढेको मेची महाकाली बुहारी संयुक्त आवाजप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता मानवीय अभियान निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा झापा जिल्ला सह–संयोजक रोशनी खनाल, जिल्ला सचिव रिना राई, जिल्ला कोषाध्यक्ष सीता श्रेष्ठ, स्थानीय सुस्मा दाहाल, समाजसेवी रमेश गिरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन रोशनी खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सीता श्रेष्ठले दिनुभएको थियो।
डाक्टरको सल्लाहअनुसार नेल्सनको मुटु उपचार तथा शल्यक्रियाका लागि करिब ३ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ।
तर अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उपचार अघि बढाउन परिवारलाई ठूलो कठिनाइ भइरहेको बालककी आमा गोमा चौधरी मगरले बताउनुभयो। छिमेकी अशोक तामाङका अनुसार स्थानीयस्तरमा सहयोग संकलन अभियान सुरु गरिए पनि आवश्यक रकम अझै जुट्न सकेको छैन।
विगतदेखि नै गरिब, असहाय र विपन्नको आवाज बन्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाज कहिले चियाबगानका श्रमिकको पीडामा बोल्छ, कहिले अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीका लागि मलम बन्छ, त कहिले गाउँ–पहाडका विद्यालय नपुगेका नानीहरूका हातमा कापी–कलम र पोशाक थमाइरहेको देखिन्छ।
नारी आधा शक्ति मात्र होइन, समाज परिवर्तनको पूर्ण शक्ति हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै आएको यो संस्थाको मानवीय अभियानले आज नेल्सन जस्ता नानीहरूका लागि जीवनको आशा जगाइरहेको छ। अब नेल्सनको जीवन बचाउन अझ व्यापक सहयोगको अपेक्षा गरिएको छ।














