बिर्तामोड । राजवंशी समुदायको पहिचान र संस्कृतिसँग जोडिएको नवौं राष्ट्रिय भाक्का दिवस यस वर्ष आन्तरिक विवादका कारण अनिश्चित बनेको छ।

राजवंशी समाज विकास समितिभित्र देखिएको नेतृत्व विवादले कार्यक्रम आयोजना गर्ने विषयमा अन्योल सिर्जना भएको हो।

सुवन्तसिंह राजवंशी नेतृत्वमा रहेको राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आफ्नो संस्थाको ब्यानर दुरुपयोग नगर्न आग्रह गर्दै डोमालाल राजवंशी रङ्गशालामा भाक्का दिवसको कार्यक्रम नगर्न स्पष्ट सन्देश दिएको छ।

समितिले आन्तरिक विवाद समाधान नहुँदासम्म कुनै पनि समूहले केन्द्रीय समितिको नाम र ब्यानर प्रयोग गरी कार्यक्रम गर्नु उपयुक्त नहुने बताएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय झापामार्फत कार्यक्रम सञ्चालन नगर्न पत्राचार गरिसकेको जनाएको छ। प्रशासनको आग्रहपछि राजवंशी समाज विकास समिति झापाले पुस २९ गतेका लागि तय गरिएको कार्यक्रम रद्द गरिएको जानकारी दिएको छ।

समितिका पदाधिकारीहरूका अनुसार राजवंशी समाज विकास समितिको आधिकारिकता सम्बन्धी विवाद जिल्ला अदालत झापामा पुगेको थियो र हालै आएको फैसलाले सुवन्तसिंह राजवंशी नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएको दाबी गरिएको छ।

यसले समुदायभित्र दुई धारबीचको मतभेद झनै चर्किएको देखिन्छ।

राजवंशी समाज विकास समिति मोरङका सचिव रूपेशकुमार राजवंशीले प्रशासनको निर्देशन कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको उल्लेख गर्दै, आधिकारिक संस्थाको ब्यानरमा मात्र कार्यक्रम गर्न आग्रह गरिएको बताए।

उनले समुदायको सांस्कृतिक पर्वलाई विवादको विषय नबनाई आपसी सहमतिका आधारमा मनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी राजवंशी समाज विकास प्रतिष्ठान अध्यक्ष सुरेन राजवंशी, राजवंशी समाज विकास समिति केन्द्रीय सचिव लखनलाल राजवंशी, केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी, अर्जुनधारा नगर अध्यक्ष प्रभु राजवंशी, मेचीनगर नगर अध्यक्ष दिनेश राजवंशी, मेचीनगर नगर सल्लाहकार सदस्य हिरामन राजवंशी, बिर्तामोड नगर उपाध्यक्ष रतन राजवंशी, सचिव बालकृष्ण राजवंशी, सहसचिव झलकसिंह राजवंशी, सल्लाहकार गंगा राजवंशी, वडा नं ९ पूर्व अध्यक्ष प्रदिप राजवंशीलगायतले जिल्ला प्रशासन कार्यालय झापाले पनि डोमालाल राजवंशी रंगशालामा भाक्का दिवसको कार्यक्रम सञ्चालन नगर्न गरेको आग्रहलाई वेवास्ता गरे त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न तयार हुन अभय राजवंशी केन्द्रीय अध्यक्ष रहेको राजवंशी समाज विकास समितिलाई आग्रह गरे ।



यसैबीच विभिन्न नगर र जिल्ला तहका प्रतिनिधिहरूले प्रशासनको निर्देशनलाई बेवास्ता गरी कार्यक्रम सञ्चालन भए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएका छन्।

उनीहरूले भाक्का दिवस जस्तो सांस्कृतिक पर्वलाई विवाद र टकरावबाट जोगाउन संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्।

आन्तरिक मतभेद समाधान नहुँदा राजवंशी समुदायको साझा पर्व नै प्रभावित बन्न पुगेको भन्दै समुदायभित्र चिन्ता बढ्दै गएको छ।

अबको चुनौती भनेको सांस्कृतिक एकताको सन्देश बोकेको भाक्का दिवसलाई कसरी सहमतिका साथ अगाडि बढाइन्छ भन्ने नै बनेको छ।