झापा । हल्दीबारी गाउँपालिका–१ स्थित जनजागृति माध्यमिक विद्यालयमा आजदेखि १६औँ राष्ट्रिय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

06

उद्घाटन समारोहमा प्रमुख अतिथि लिङ्देनले खेलकुदमार्फत विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गर्दै स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म पुर्‍याउने उद्देश्यका साथ राष्ट्रपति रनिङशील प्रतियोगिताको सुरुवात गरिएको बताउनुभयो।

IMG_5874

उहाँले स्थानीय तहले वार्षिक रूपमा सञ्चालन गर्दै आएको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै उत्कृष्ट खेलाडी छनोट गर्ने महत्वपूर्ण आधार बनेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण जनजागृति माध्यमिक विद्यालयका शिक्षक झमक तिम्सिनाले गर्नुभएको थियो

8 1

प्रतियोगितामा हल्दीबारी गाउँपालिका भित्रका १३ वटा निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ। सहभागी विद्यालयहरूमा जनजागृति मावि, हल्दीबारी मावि, लक्ष्मी मावि, महेन्द्र मावि, सरस्वती मावि, जशोदा मावि, चिल्ड्रेन गार्डेन एकेडेमी, गोल्धाप सनराइज अंग्रेजी मावि, संस्कार शिक्षा सदन, क्यानरी एकेडेमी, केनरी एकेडेमी, सिग्मा अंग्रेजी मावि तथा चिल्ड्रेन्ट गार्डेन अंग्रेजी मावि रहेका छन्।

वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यक्रम संयोजक सन्तकुमार थापाका अनुसार प्रतियोगितामा करिब १ हजार २ सय जना छात्र–छात्राले सहभागिता जनाएका छन्। प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४५ कास्य पदकका लागि प्रतिस्पर्धा सुरु भएको छ।

आयोजक समितिका सचिव तथा जनजागृति माविका प्रधानाध्यापक रामप्रसाद दाहालका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, हाई जम्प, लङ जम्प, जाभलिन थ्रो, सर्टपुट तथा कराते गरी जम्मा २२ वटा खेलविधा समावेश गरिएको छ।

IMG_5876

पुष २८, २९ र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने समग्र प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई विशेष ट्रफी प्रदान गरिनेछ।

कार्यक्रमका संयोजक थापाले १८ वर्षमुनिका विद्यार्थीहरूले भाग लिन पाउने यस प्रतियोगितामार्फत राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुनौलो अवसर मिल्ने बताउनुभयो।

उहाँले गत वर्ष हल्दीबारी गाउँपालिकाभित्रका प्रतिभावान खेलाडीहरूले १० वटा मेडल जित्न सफल भएको स्मरण गराउँदै यस वर्ष झापा स्तरीय प्रथम हुने लक्ष्यका साथ गाउँपालिका अघि बढेको जानकारी दिनुभयो।

स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलकुद विकास र प्रतिभा उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङशील प्रतियोगिताले हल्दीबारीका विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ।