
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरूले स्वागत गीतमार्फत अतिथिहरूलाई सम्मान प्रकट गरेका थिए।
कार्यक्रमको सुरुवात विद्यालयका स्काउट विद्यार्थीहरूले राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई सलामी अर्पण गरेर गरेका थिए। त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले शैक्षिक, भौतिक तथा सह–पाठ्यक्रम गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

वार्षिकोत्सवका अवसरमा विभिन्न अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
डा. लक्ष्मीप्रसाद मैनालीद्वारा आफ्ना अग्रजहरूको स्मृतिमा स्थापना गरिएको रामप्रसाद मैनाली (गाउँ बुढा), विश्वेश्वरा तथा खेम स्मृति पुरस्कारबाट कक्षा ८ मा ४ जिपिए ल्याउने पुज्यता सुवेदी, ३.९७ जिपिए ल्याउने आरुसी प्रसाईं र ३.९४ जिपिए ल्याउने प्रतिष्ठा पौडेल सम्मानित भए। त्यसैगरी सुरेश पाठक स्मृति पुरस्कारबाट एसइईमा ४ जिपिए ल्याउने विद्या भट्टराई र कक्षा १२ मा ३.७४ जिपिए ल्याउने आयुष पौडेल पुरस्कृत भए।

यसै अवसरमा वर्ष उत्कृष्ट खेलाडी तर्फ छात्रा भूमिका कालिकोटे र छात्र आयुष शिवाकोटी चयन भए। उत्कृष्ट शिक्षकको रूपमा माध्यमिक तहबाट तुलसीराम खरेल, निमावि तहबाट पुष्पलाल आचार्य, आधारभूत तहबाट सन्तोष पोखरेल र उमाकुमारी राजवंशी तथा बाल शिक्षक गीता काफ्ले सम्मानित भए। दीर्घसेवी शिक्षक सम्मान शान्ता चुडाललाई प्रदान गरिएको थियो भने सेवा निवृत्त हुँदै गरेका शिक्षक तुलसा सिटौलालाई विदाइ तथा सम्मान गरिएको थियो।
त्यस्तै विद्यालयको प्रतिभा खोज कार्यक्रम ‘महेन्द्ररत्न तारा सिजन–३’ का विजेता सन्दीप गुरुङ, प्रथम उपविजेता किस्मत रिजाल र द्वितीय उपविजेता गौरव मालेलाई पनि पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयका अक्षयकोष दाता, प्रवेशद्वार निर्माणमा सहयोग पुर्याउने तथा चिसो खानेपानीका लागि फिल्टर जडान गर्ने दाताहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेत, नेपाल बक्सिङ संघका भोजराज सिटौलालगायतले विद्यालयको शैक्षिक यात्राको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।














