झापा,ओमनारायण राजवंशी  राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीको गिरफ्तारीप्रति सम्पूर्ण राजवंशी समुदायले कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक उद्देश्यबाट प्रेरित र शक्तिको दुरुपयोग भएको ठहर गरेको छ।

समुदायले जारी गरेको अपिलमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गरिएको कारबाही केवल कानुनी प्रक्रिया नभई राजवंशी समुदायको पहिचान, अधिकार र गरिमामाथिको प्रत्यक्ष आक्रमण भएको उल्लेख गरिएको छ।

अपिलमा अवय राजवंशीलाई समुदायको नायकको रूपमा चित्रित गर्दै उनले लामो समयदेखि आदिवासी राजवंशी समुदायको अधिकार, पहिचान र सम्मानका लागि संघर्ष गर्दै आएको दाबी गरिएको छ।

“यो गिरफ्तारी कुनै एक व्यक्तिमाथिको मात्र कारबाही होइन, यो सम्पूर्ण राजवंशी समुदायमाथिको अपमान हो,” अपिलमा भनिएको छ, “हामी सधैं आफ्नो अधिकारका लागि लड्दै आएका छौं र अब पनि अन्यायका सामु झुक्ने छैनौं।”

राजवंशी समुदायले अध्यक्ष अवय राजवंशीको तत्काल र बिना शर्त रिहाइको माग गर्दै अाज शान्तिपूर्ण प्रदर्शन आयोजना गर्ने घोषणा गरेको हाे । 
अपिलमा सम्पूर्ण राजवंशी समुदायका सदस्यहरू, शुभेच्छुकहरू तथा न्यायप्रेमी नागरिकहरूलाई एकताबद्ध भई प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।

“हाम्रा नेताले हाम्रो लागि लडे, अब हामी उनको न्यायका लागि एकजुट हुन्छौं,” अपिलमा उल्लेख गर्दै समुदायले आफ्नो आवाज दबाउन नसकिने र संकल्प नटुट्ने स्पष्ट सन्देश दिएको छ ।