नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बोकेका निर्देशक विजय केरुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘परिवर्तन’ देश तथा विदेशका सिनेमा घरहरूमा एकैसाथ प्रदर्शनमा आउने भएको छ।

सामाजिक यथार्थ र संवेदनशील विषयवस्तुमा आधारित यस चलचित्रको प्रदर्शनको पूर्वसन्ध्यामा आज पूर्वको धार्मिक धामका रूपमा परिचित कन्काई धाममा मकर संक्रान्तिको अवसर पारेर विशेष प्रचार कार्यक्रम सम्पन्न भएको छ।

IMG_6011

कार्यक्रममा उपस्थित भक्तजन तथा आगन्तुकहरूलाई चलचित्रबारे जानकारी गराउने उद्देश्यले चलचित्रका नायक सुशिल श्रेष्ठ , नायिका अन्जना बराइली सहित ‘परिवर्तन’ टिमको उपस्थिति रहेको थियो।

यसअघि माझी दाइ, आमाको काख जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका निर्देशक केरुङले ‘परिवर्तन’मा एक इमानदार प्रहरी अधिकृतको कथालाई केन्द्रमा राख्दै कानुनी कर्तव्य र व्यक्तिगत भावनाबीचको द्वन्द्वलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।


IMG_6125

चलचित्रले नेपालको सीमा सुरक्षासँग जोडिएको संवेदनशीलता, भ्रष्टाचारले जरा गाडेको संरचना तथा गरिब, दुःखी र असहाय नागरिकको विवश जीवनलाई मार्मिक ढंगले चित्रण गरेको छ।

मुख्य भूमिकामा पछिल्लो समय व्यस्त र चर्चामा रहेका कलाकार सुनिल श्रेष्ठ र अन्जना बराइलीको अभिनय रहेको छ।

‘आउटल दफा २१९’ बाट एक्सन नायकका रूपमा पुनरागमन गरेका श्रेष्ठका लागि ‘परिवर्तन’ करियरको अर्को टर्निङ पोइन्ट बन्ने निर्देशक केरुङको विश्वास छ।

त्यस्तै महापुरुष, पूजार् सार्की, पूर्णबहादुरको सारङ्गी जस्ता प्रशंसित चलचित्रमा अभिनय गरिसकेकी अन्जना बराइली यसपटक बिल्कुल फरक र चुनौतीपूर्ण भूमिकामा देखिनुभएको छ।

चलचित्रमा हेमन्त बुढाथोकी, सरोज खनाल, बुद्धि तामाङ, करिश्मा मानन्धर, सुवास मेचे, पुकार भट्टराई, याम खरेल, गौतम तिवारी, घनश्याम गिरी, आयशा कार्की लगायत कलाकारहरूको बेजोड अभिनय रहेको छ।

IMG_6037दिव्यासी फिल्म प्रालिको ब्यानरमा निर्माण सम्पन्न भएको चलचित्रका मुख्य निर्माता पूर्वी झापाका युवा व्यवसायी दीपक शिवाकोटी हुनुहुन्छ। उहाँले समाज परिवर्तनका लागि व्यवसायसँगै कलालाई माध्यम बनाउने उद्देश्यले चलचित्र निर्माण गरेको बताउनुभयो।

कोरोनाको कठिन समयमा फुर्सदको सदुपयोग गर्दै चलचित्रको कथा आफूले नै लेखेको पनि उहाँको भनाइ छ।

IMG_6000चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार गर्नुभएको हो। दशगजा, रामायण, यो मन त मेरो नेपाली हो जस्ता सफल चलचित्रका लेखक अधिकारीका अनुसार ‘परिवर्तन’ले कर्तव्य र भावनाबीचको टकराव, प्रहरीको इमान्दारी र मानवीय मूल्यको द्वन्द्वलाई गहिराइमा प्रस्तुत गरेको छ।

चलचित्रको छायांकन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी र द्वन्द्व निर्देशन श्री श्रेष्ठले सम्हाल्नुभएको छ।

पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने सहायक निर्देशक नवराज शर्मा र पोस्ट–प्रोडक्सन हेड अरुण रेग्मी रहनुभएको छ।

IMG_5998चलचित्रको छायांकन झापा र मोरङका रमणीय स्थलहरूमा गरिएको हो।

मकर संक्रान्तिको अवसरमा कन्काई माईमा आयोजित कार्यक्रममा दर्शकहरूले चलचित्र ‘परिवर्तन’का संवाद प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक बनाएका थिए।


IMG_6110

उत्कृष्ट संवाद प्रस्तुत गर्ने पाँच जनालाई निःशुल्क टिकटसमेत प्रदान गरिएको थियो। कार्यक्रममा नायक सुनिल श्रेष्ठको दमदार संवाद प्रस्तुति र अन्जना बराइलीसहित सम्पूर्ण टिमको नृत्यले माहोल थप उत्साहपूर्ण बनेको थियो।

कार्यक्रममा बोल्दै नायक सुशिल श्रेष्ठले झापाली कलाकार सुवास मेचेसहित स्थानीय कलाकारहरूको सशक्त अभिनय रहेको ‘परिवर्तन’लाई झापाली दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

कार्यक्रमको सहजीकरण कार्यक्रम प्रस्तोता तथा गजलकार सुनिता तामाङले गर्नुभएको थियो।