हल्दीबारी, झापा — सञ्चारकर्मी तथा १२० पटक रक्तदान गरिसकेका शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।
हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको यस पुरस्कारबाट बिमलीलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन, पुरस्कारदाता उपप्रमुख राधा कार्की तथा हल्दीबारी जेसिजकी संस्थापक अध्यक्ष युनिता दवाडीले संयुक्त रूपमा बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई पत्रकारितामार्फत समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको, मानव सेवामा १२०औँ पटक रक्तदान गरी जीवनदानमा योगदान पुर्याएको तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार बिमलीको कर्मशीलता, सेवाभाव र निष्ठावान पत्रकारिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै मानवता र पत्रकारिताको गरिमालाई थप सुदृढ बनाएको छ।














