दमक — दमकमा केन्द्रीय कार्यालय रहेको सहयोगी मनहरू नेपालले आफ्नो छैटौँ वार्षिक स्थापना दिवसको अवसरमा बोनम्यारो पीडित ४ वर्षीय रोनिस विश्वकर्माको उपचारका लागि ३७ हजार ८ सय ६५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
दमकमा बुधबार आयोजित कार्यक्रममा सहयोगी मनहरू नेपालका केन्द्रीय अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षतामा तथा दमक नगरपालिका वडा नम्बर ४ का वडा सदस्य एवं नगर कार्यसमिति सदस्य शारदा भट्टराईको प्रमुख आतिथ्यतामा उक्त रकम वनमाया बिक बचाउ अभियान अन्तर्गत बालकको परिवारलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम अध्यक्ष आचार्य र प्रमुख अतिथि भट्टराईले संयुक्त रूपमा चेकमार्फत हस्तान्तरण गर्नुभएको थियो।
संस्थाका सचिव विष्णु उप्रेतीका अनुसार उक्त सहयोग बोनम्यारो पीडित बालकको उपचार सहयोगका लागि प्रदान गरिएको हो।
कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो। स्वागत मन्तव्य संस्थाकी लेखा समिति संयोजक अनिता श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे सहसचिव पुष्पराज भट्टराईले जानकारी गराउनुभएको थियो।
छैटौँ स्थापना दिवसको अवसरमा सहयोगी मनहरू नेपालले सामाजिक, पत्रकारिता तथा संस्थागत क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरेको छ।
सम्मानित हुनेहरूमा मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं,आवृत्ति खनाल (युएसए), भगवती रिमाल (युएसए), अमेरीकन नागरिक एमी चुङ,उज्यालो खबरका सह–सम्पादक भूमिराज पराजुली, स्थानीय व्यवसायी श्याम तिम्सिना र सुमनराज रिमाल रहेका छन्।
संस्थाका अध्यक्ष आचार्यका अनुसार संस्था सञ्चालन, व्यवस्थापन तथा प्राविधिक पाटोमा विशेष सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भट्टराईले ब्यानर वाचन गरी गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गर्नुभएको थियो।
सहयोगी मनहरू नेपालले विगत छ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत झापा र मोरङका विभिन्न स्थानमा निरन्तर सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाले मोरङको पत्री शनिश्चरे नगरपालिका–४ मा रहेको महारानी ट्युसन सेन्टरका ३१ जना अनाथ तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण, झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा ४० जना विपन्न बिरामी, ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिकालाई झुल वितरण तथा जनचेतनामूलक कार्यक्रम, दमक–३ ताराबारी (गहिरी गाउँ) का दुई जना ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग, दमक–३ गौरीगाउँमा एक वृद्ध दम्पतीलाई सहयोग, दमकमा न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग, साथै १५०० भन्दा बढी विपन्न परिवारलाई निःशुल्क झुल वितरण गरिसकेको छ।

यसैगरी संस्थाले जनवरी २७, २०२४ मा दमकमा निःशुल्क आँखा शिविर, दमक बाल आश्रममा भोजन तथा शैक्षिक सामग्री वितरण, संविधान दिवस तथा अन्य जनचेतनामूलक कार्यक्रमहरू समेत सम्पन्न गरिसकेको जनाएको छ।
साथै संस्थाले गायक सीताराम ताजपुरिया र उहाँकी श्रीमती लक्ष्मी उडायरलाई नगद १० हजार ५ रुपैयाँसहित सम्मान, तथा लोकप्रिय गीतकार सीताराम ताजपुरियालाई सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै सहयोगी मनहरू नेपालका केन्द्रीय अध्यक्ष भीमप्रसाद आचार्यले संस्थालाई सहयोग गर्ने देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीप्रति धन्यवाद व्यक्त गर्दै सके आर्थिक सहयोग गर्न र नसके सहयोगी भावना भएका मनकारीहरूलाई अभियानमा जोडिदिन आग्रह गर्नुभयो।














