बुद्धशान्ती। पवन ढकाल, झापा जिल्लाको बुद्धशान्ती गाउँपालिका–४ बर्ने स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले जेष्ठ नागरिक, अपाङ्ग, अशक्त तथा बृद्ध–बृद्धाका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ।


चिसो मौसमसँगै बृद्धावस्थाका बिरामीको संख्या बढ्दै गएपछि सेवा केन्द्रले उक्त स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्थानीय १०० भन्दा बढी जेष्ठ नागरिक तथा अन्य बिरामीले सुगर, प्रेसर,  (हाड जोर्नी), रुघाखोकी, छाती दुखाइ लगायतका समस्याको स्वास्थ्य परीक्षण गराएका छन्।


जेष्ठ नागरिक समूह ‘चौतारी’को नियमित पाक्षिक भेलाको अवसर पारेर आधारभूत स्वास्थ्य सेवा केन्द्रसँग समन्वय गरी उक्त कार्यक्रम आयोजना गरिएको जेष्ठ नागरिक चौतारीका अध्यक्ष ज्ञान बहादुर मगरले जानकारी दिनुभयो।


अध्यक्ष मगरका अनुसार जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यसअघि पनि स्वास्थ्य तथा आँखा शिविर सञ्चालन हुँदै आएको छ। यस्ता मानवीय तथा सम्मानजनक सेवाबाट आफूहरू अत्यन्तै गौरवान्वित महसुस गरेको सेवा लिएका बृद्धबृद्धाहरूले बताएका छन्।


स्थानीयस्तरमा गरिएको यो पहलले जेष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूले बताएका छन्।