झापा । आगामी माघ ९ गतेदेखि नेपाल तथा विदेशका सिनेमा घरहरूमा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ हेर्न चलचित्रका कलाकार तथा निर्माण पक्षले दर्शकलाई आग्रह गरेका छन्।
झापाको बिर्तामोड स्थित पिज्जा घरको सभाहलमा पत्रकारसंग अन्तरक्रिया गर्दै निर्माण टिमले उक्त कुरा बताएका हो ।
सामाजिक यथार्थ, एक्सन र सस्पेन्स मिश्रित कथावस्तु बोकेको यस चलचित्रले झापा र सीमावर्ती क्षेत्रसँग जोडिएको संवेदनशील विषय उठान गरेकाले दर्शकका लागि विशेष हुने निर्माण टिमको विश्वास छ।

चलचित्रका नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली लगायत कलाकारहरूले ‘परिवर्तन’ले नेपालको सीमा सुरक्षा, भ्रष्टाचार र सत्ता मोहका कारण उत्पन्न हुने यथार्थ घटनालाई पर्दामा उतारेको बताएका छन्।
उनीहरूका अनुसार चलचित्रले स्थानीय परिवेशसँगै राष्ट्रिय चासोका विषयलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।चलचित्रका निर्देशक विजय केरुङले ‘परिवर्तन’ले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै एक्सनसँगै गहिरो सामाजिक सन्देश बोकेको कथावस्तुले दर्शकलाई अन्त्यसम्म बाँध्ने बताए।
सत्ताका लागि नेताहरू जे सुकै गर्न पनि तयार हुन्छन् भन्ने यथार्थलाई चलचित्रमार्फत देखाइएको उनको भनाइ छ। तीन दशकभन्दा लामो चलचित्र अनुभव बोकेका केरुङले यसअघि ‘माझी दाइ’ र ‘आमाको काख’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।

चलचित्रका निर्माता दिपक शिवाकोटीले ‘परिवर्तन’ गुणस्तरीय रूपमा बनेको दाबी गर्दै नेपाल तथा विदेशमा माघ ९ गतेबाट एकैसाथ प्रदर्शनमा आउने जानकारी दिए।
एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएकोले चलचित्रले दर्शकको मन जित्ने उनको विश्वास छ।चलचित्रमा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको चुनौतीपूर्ण भूमिकामा प्रस्तुत भएकी छन्।
‘आउटल दफा २१९ पछि एक्सन नायकका रूपमा पुनरागमन गरेका श्रेष्ठका लागि ‘परिवर्तन’ करियरको अर्को महत्वपूर्ण मोड बन्ने निर्देशक केरुङको विश्वास छ।
त्यस्तै ‘महापुरुष’, ‘पूर्जा सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेकी बराइली यसपटक फरक र प्रभावशाली भूमिकामा देखिएकी छन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ र अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई लगायतको मुख्य भूमिका रहेको छ।
साथै याम खरेल, गौतम तिवारी, घनश्याम गिरी, आयशा कार्की सहित झापाली कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।चलचित्रको कथा तथा निर्माण दिपक शिवाकोटीको रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन्। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने बताइएको छ।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा हिजाे पूर्वको धार्मिक धामका रूपमा परिचित कन्काई धाममा मकर संक्रान्तिको अवसर पारेर विशेष प्रचार कार्यक्रमसमेत सम्पन्न गरिएको थियाे ।
सो अवसरमा झापाली कलाकार याम खरेल र गौतम तिवारीले सम्पूर्ण झापाली दर्शकलाई ‘परिवर्तन’ हेर्न आग्रह गरेका छन्।
सामाजिक यथार्थ, इमानदार प्रहरी अधिकृतको संघर्ष, कानुनी कर्तव्य र व्यक्तिगत भावनाबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको चलचित्र ‘परिवर्तन’ माघ ९ गतेबाट देश तथा विदेशका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ।














