बिर्तामोड।भरत प्रसाई,
कटुवाल बन्धुहरूको हक–अधिकार संरक्षण तथा सामाजिक सहयोगलाई केन्द्रमा राख्दै कटुवाल कल्याण कोष झापा जिल्ला समिति अर्जुनधारा–६ को तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
कटुवाल कल्याण कोष झापा जिल्ला समितिका अध्यक्ष रामबहादुर कटुवालको अध्यक्षता तथा चुडाल बन्धु कल्याण केन्द्रीय समिति अध्यक्ष गोपाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सदस्य रत्नबहादुर कटुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष रामबहादुर कटुवालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०७५ साल जेठ १५ गते कटुवाल बन्धुहरूको हकहित र असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिनुभयो।
प्रतिवेदनअनुसार कोषमा हालसम्म ११ लाख ९० हजार रुपैयाँ संकलन भएको छ भने आजीवन सदस्य १ सय १८ जना र साधारण सदस्य २२ जना रहेका छन्।
अध्यक्ष कटुवालले २०७९ साल पुस २७ गतेदेखि आफ्नो जन्मदिनको अवसरमा दैनिक पाँच रुपैयाँका दरले वार्षिक १ हजार ८ सय २५ रुपैयाँ कोषमा सहयोग गर्दै आएको उल्लेख गर्दै अन्यलाई पनि यस्तै सामाजिक कार्यमा सहभागी हुन आग्रह गर्नुभयो।
कार्यक्रममा कटुवाल वंशवाटिकाका अध्यक्ष मित्रबहादुर कटुवाल, पर्शुराम कटुवाल, कृष्ण कटुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साथै, दिवंगत आजीवन सदस्यका श्रीमतीहरू टेकमाया कटुवाल, सविता खुलाल कटुवाल, सरस्वता कटुवाल तथा उत्कृष्ट दाता उदयबहादुर कटुवाललाई सम्मान गरिएको थियो।
साधारण सभाका अवसरमा उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–१५ निवासी आगलागीपीडित महाबीर कटुवाललाई घर आगलागी सहयोगस्वरूप १ लाख १२ हजार २ सय ३१ रुपैयाँ हस्तान्तरण गरिएको छ।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष डम्बरबहादुर कटुवालले गर्नुभएको थियो।
अधिवेशनले डम्बरबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा अजितकुमार कटुवाल, सचिवमा टंकबहादुर कटुवाल, सहसचिवमा रत्नबहादुर कटुवाल, कोषाध्यक्षमा मानबहादुर कटुवाल र सह–कोषाध्यक्षमा निर्मला कटुवाल चयन हुनुभएको छ।
सदस्यहरूमा उदयकुमार कटुवाल, जितबहादुर कटुवाल, टेकमान कटुवाल, सुभद्रा कटुवाल संग्रौला, गोविन्द कटुवाल, इन्द्रप्रसाद कटुवाल तथा कटुवाल वंशवाटिकाका प्रतिनिधि एवं संस्थापक सदस्य रामबहादुर कटुवाल रहनुभएको छ।
त्यसैगरी साधारण सभाले गुणराज कटुवालको संयोजकत्वमा अनलाइन समिति गठन गरेको छ।
समितिको सदस्य–सचिवमा अमर कटुवाल र सदस्यहरूमा बिनुमाया कटुवाल, रामबहादुर कटुवाल, टंकबहादुर कटुवाल, धुर्वबहादुर कटुवाल, धनबहादुर कटुवाल, डम्बरबहादुर कटुवाल, केदारबहादुर कटुवाल, कृष्णबहादुर कटुवाल र कुलराज कटुवाल रहनुभएको छ।
अध्यक्षको प्रतिवेदनमा भावी कार्यक्रमबारे प्रकाश पार्दै संशोधित विनियमअनुसार आजीवन सदस्य संख्या कम्तीमा ३०० र साधारण सदस्य संख्या कम्तीमा ५०० पुर्याइने लक्ष्य तय गरिएको छ।
सबै कटुवाल बन्धुहरूलाई कोषमा आबद्ध गराउँदै देशभर जिल्लास्तरीय समिति तथा स्थानीय पालिका शाखा गठन गरिने जनाइएको छ।
त्यसैगरी ‘कम्तीमा एक घर–एक सदस्य’ अभियान सञ्चालन गर्दै घरदैलो कार्यक्रममार्फत सदस्यता विस्तार गरिनेछ।
आर्थिक सहयोगको अपेक्षा गर्ने बन्धुहरूको आवश्यकता मूल्याङ्कन गरी सहयोग उपलब्ध गराइने तथा कटुवाल वंशवाटिकासँग समन्वय गरी कटुवाल वंशावली अध्यावधिक गर्न पहल गरिने योजना समेत प्रतिवेदनमा समेटिएको छ।














