साहित्य चौतारी बिर्तामोड झापाले अङ्ग्रेजी नयाँ वर्ष २०२६, कवि शिरोमणि लेखनाथ जयन्ती, तमु लोसार, खिचडी दिवस, विश्व नेपाली टोपी दिवस तथा रन्धाेज नेम्बाङ ‘रङसाङ’ को १०३औँ जन्मजयन्तीको अवसरमा सम्पन्न विभिन्न कार्यक्रमहरूको समीक्षा सहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
साहित्य चौतारी बिर्तामोड झापाका प्रथम संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो अवसरमा सम्पन्न शालिक अनावरण, जीवनीपरक कृति तथा स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमसम्बन्धी समीक्षात्मक प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गरेको हो।
बैठकले साहित्य चौतारीको नयाँ डिजिटल पहल अन्तर्गत ‘साहित्य चौतारीसँग स्रष्टा’ कार्यक्रम सुरु गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कार्यक्रमको पहिलो श्रृङ्खला यही माघ १५ गतेबाट प्रसारणमा आउने जानकारी कार्यक्रमका निर्देशक तथा साहित्य चौतारी बिर्तामोड झापाका प्रेस सल्लाहकार भरत प्रसाईंले दिनुभयो।
उहाँका अनुसार युग डिजिटल प्रविधिमा प्रवेश गरिसकेकाले स्रष्टा तथा सर्जकका अनुभव, अनुभूति र जीवनभोगाइलाई डिजिटल अभिलेखका रूपमा सुरक्षित राख्ने उद्देश्यले यो कार्यक्रमको अवधारणा अगाडि सारिएको हो।

बैठक तथा कार्यक्रममा साहित्य चौतारी नेपालका सल्लाहकार राजेन्द्र संग्रौला, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, उपाध्यक्ष शान्ता पौडेल, सह–संरक्षक तथा महासचिव गौरव श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, सहसचिव जिना अधिकारी, कोषाध्यक्ष भवानी गौतम, सह–कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्यहरू एन बी दाहाल,मीना अधिकारी, कल्पना भट्टराई, मनिषा भट्टराईलगायतको उपस्थिति रहेको थियो।
डिजिटल प्लेटफर्मबाट प्रसारण हुने ‘साहित्य चौतारीसँग स्रष्टा’ कार्यक्रमको उद्घाटनका लागि माघ १५ गते आयोजना हुने विशेष कार्यक्रममा उपस्थित हुन साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष, नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार देवीभक्त श्रेष्ठले सम्पूर्ण स्रष्टा, सर्जक तथा कला–साहित्य प्रेमीहरूलाई आग्रह गर्नुभएको छ।

कार्यक्रमका बीच साहित्य झापाका उपाध्यक्षले कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम प्रत्येक महिनाको शनिबार बेलुका ७ बजे साहित्य चौतारी बिर्तामोड झापाको अफिसियल युट्युब च्यानल, फेसबुक पेज तथा टिकटकमार्फत एकैसाथ प्रसारण हुनेछ।
केवल ३० मिनेटको अन्तरङ्ग कुराकानीमा आधारित यो कार्यक्रममार्फत स्रष्टाका जीवन अनुभव, अनुभूति र सिर्जनात्मक यात्रालाई अभिलेखीकरण गरी भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको साहित्य चौतारी झापाका सह–संरक्षक, महासचिव तथा प्रविधि संयोजक गौरव श्रेष्ठले बताउनुभयो।
बैठकमा उपस्थित कार्यसमिति सदस्यहरूले कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
युट्युब च्यानललाई राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा पुर्याउन सशक्त प्रचारप्रसार आवश्यक रहेको सुझाव सञ्चारकर्मी तथा कार्यक्रमका कार्यसमिति सदस्य तुलसीप्रसाद निरौलाले दिनुभयो।














