बुद्दशान्ति । पवन ढकाल,
सुपारी किसानहरूले आफ्ना मागहरू सरकारले बेवास्ता गरे कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
आन्दोलनरत सुपारी किसानहरूले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।
सुपारी उत्पादन तथा प्रवर्द्धन कृषि कम्पनी प्रालि, सुपारी उत्पादक किसान संघ नेपाल लगायत किसान प्रतिनिधिहरूको सहभागितामा ज्ञापनपत्र बुझाइएपछि प्रालिका अध्यक्षले सरकारको नीतिका कारण सुपारी किसानहरू गम्भीर संकटमा परेको बताउनुभयो। उहाँले भन्नुभयो—
ज्ञापनपत्रमा
– सुपारी बालीलाई औपचारिक रूपमा ‘कृषि उपज’को सूचीमा सूचीकृत गर्नुपर्ने,
– विदेशबाट सुपारी आयात पूर्ण रूपमा रोक्नुपर्ने,
– स्वदेशी सुपारी निर्यातका लागि सहज भन्सार व्यवस्था गर्नुपर्ने
लगायत ८ बुँदे माग समेटिएको छ।
सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्षले वर्तमान सरकारी निर्णयहरूले सुपारी किसानलाई विस्थापित बनाउने खतरा बढेको भन्दै समयमै समाधान नगरे आन्दोलन अपरिहार्य हुने चेतावनी दिनुभयो।
त्यस्तै, किसान महासंघका सदस्य थिरप्रसाद खतिवडाले सरकारले सुपारी किसानमाथि गरेको ज्यादती र बेवास्ताविरुद्ध सम्पुर्ण सुपारी किसान एकजुट भएर आन्दोलनमा जाने स्पष्ट संकेत दिनुभयो।
त्यसैगरी माघ मसान्तसम्म मागहरू सम्बोधन नभए आफुहरु चरणबद्ध रूपमा सडक आन्दोलनमा जान बाध्य हुने प्रा .लिका अध्यक्ष खतिवडाले बताउनु भयो।
यसैबीच, ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले किसानहरूको मागलाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि आवश्यक पहल गर्दै उक्त मागहरू सरकारसमक्ष पठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सुपारी किसानहरूले सरकारको मौनताले समस्या झन जटिल बन्दै गएको भन्दै अब सहेर नबस्ने चेतावनी दिएका छन्।
किसान प्रतिनिधिमा प्रालिका सचिव बोदराज दहाल, हेमराज भट्टराई , छोट बहादुर राई,प्रकाश पुरी, रमेश खतिवडा लगायतका सुपारी किसानहरुको सहभागिता रहेको थियो।














