झापा — हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति झापाको सभाहलमा आज आयोजित कार्यक्रममा झापाका ६ वटा प्रभावित पालिकामा आम औषधि सेवन अभियान सञ्चालन गरिने जानकारी दिइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि रविन्द्र खनियाले झापाका अर्जुनधारा, बाह्रदशी, कन्काई, झापा, कचनकवल र हल्दीबारी पालिकामा एक प्रतिशतभन्दा बढी माइक्रोफाइलेरिया (हात्तीपाइले रोगको जीवाणु) भेटिएकाले ती पालिकामा १४ चरणसम्म आम औषधि सेवन अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।

01 2

उहाँका अनुसार हात्तीपाइले रोगको लक्षण देखापर्न १० देखि १५ वर्षसम्म लाग्न सक्ने भएकाले लक्षण नदेखिए पनि सबैले औषधि सेवन गर्नुपर्ने आवश्यकता छ।

खनियाले सन् २०३० सम्म नेपालभरबाट हात्तीपाइले रोग पूर्णरूपमा न्यूनीकरण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अघि बढिरहेको जानकारी दिँदै हालसम्म नेपालका ५७ जिल्लामा यो रोग सामुदायिक स्तरमै नियन्त्रण भइसकेको बताउनुभयो।

जिल्ला समन्वय समिति झापाका संयोजक विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरू स्वयंले औषधि सेवन नगर्नु र राज्यले करोडौँ रुपैयाँ खर्च गर्दा पनि झापाका ६ पालिकामा संक्रमण देखिनु दुःखद विषय भएको उल्लेख गर्नुभयो।

IMG_6390कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार सन् २०२४ सम्म विश्वभर हात्तीपाइले रोगको संक्रमण दर ९४ प्रतिशतले घटेर ५ दशमलव १ करोड मानिस अझै संक्रमित अवस्थामा रहेका छन्। विश्वभर यो कार्यक्रम सञ्चालन भएका ६१ देशमध्ये १२ देशमा समुदाय स्तरको संक्रमण रोकिएको छ भने २१ देशले रोग पूर्णरूपमा निवारण गरिसकेका छन्।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले झापाका १५ पालिकामध्ये ६ पालिकामा जोखिम उच्च रहेकाले आम औषधि सेवन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार माघ ८ गतेदेखि सुरु भएको अभियान दुई सातासम्म सञ्चालन हुनेछ। सबैको सहकार्य र सहभागिताबाट मात्र हात्तीपाइले रोगलाई नेपालबाट निर्मूल गर्न सकिने उहाँको भनाइ थियो।

IMG_6402

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरी, स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि, स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दास लगायतले अभियान सफल बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपालमा हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम सन् २००३ बाट सुरु गरिएको हो। डब्लुएचओका प्रतिनिधि खनियाका अनुसार नेपालका ६४ इन्डेमिक जिल्लामध्ये ५७ जिल्लामा सामुदायिक स्तरको संक्रमण रोकिएपछि आम औषधि सेवन अभियान बन्द भइसकेको छ भने पाँच जिल्ला दोस्रो चरणको संक्रमण मूल्याङ्कन प्रक्रियामा रहेका छन्।

IMG_6375

सन् २०२५ सम्म नेपालभर ४७ हजार ८८६ जना हात्तीपाइलेका बिरामी पहिचान भएका छन्। तीमध्ये ३२ हजार ६५९ हाइड्रोसिल, १४ हजार ७७६ लिम्फेडेमा र १३१ जनामा दुवै समस्या देखिएको तथ्यांक प्रस्तुत गरिएको थियो।