विराटनगर । कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५०४ उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यसपटकको निर्वाचन पुराना प्रभावशाली नेताहरू र उदाउँदै गरेका नयाँ दल बीचको प्रतिस्पर्धाका रूपमा देखिएको छ।

अघिल्लो निर्वाचनमा विजयी १३ जना उम्मेदवार फेरि मैदानमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता ज्ञानेन्द्र कार्की, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू लगातार तेस्रो जितको खोजीमा छन्।

तर, यसपटक उनीहरूलाई सबैभन्दा ठूलो चुनौती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ शक्ति र केही स्वतन्त्र उम्मेदवारबाट देखिएको छ।

विशेषगरी झापा, मोरङ र सुनसरीका निर्वाचन क्षेत्रमा रास्वपाले सशक्त उम्मेदवार अघि सार्दै स्थापित दलहरूको मताधारमा धक्का दिने रणनीति अपनाएको देखिन्छ।

झापा–५ मा ओलीलाई रास्वपाका उम्मेदवारबाट कडा टक्कर हुने आँकलन गरिएको छ भने झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेविरुद्ध पूर्वउपसभामुख इन्दिरा राना मैदानमा छन्।

मोरङका क्षेत्रमा पनि प्रतिस्पर्धा तीव्र छ। मोरङ–४ मा दुईपटक विजयी अमनलाल मोदी ह्याट्रिकको दौडमा भए पनि एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारले त्रिकोणात्मक संघर्ष सिर्जना गरेका छन्।

मोरङ–५ मा भने स्वतन्त्रबाट उदाएका योगी मण्डलले आफ्नै पार्टी बनाएर पुनः जनमत परीक्षण गरिरहेका छन्।

पूर्वी पहाडी जिल्लाहरू इलाम, धनकुटा र उदयपुरमा पनि विरासत जोगाउने प्रयासनयाँ अनुहारको उदय सँगसँगै देखिन्छ।

इलाम–१ मा सुहाङ नेम्वाङलाई बहुदलीय चुनौती छ भने धनकुटामा एमालेका राजेन्द्र राईलाई कांग्रेस, माओवादी र नयाँ दलका उम्मेदवारहरूले घेरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको चुनाव अनुभव बनाम परिवर्तन को बहसमा केन्द्रित हुँदै गएको छ। पुराना नेताहरूको संगठन र प्रभाव कायमै रहे पनि, नयाँ दलप्रतिको आकर्षणले कोशी प्रदेशको चुनावी परिणाम अनिश्चित र चासोपूर्ण बनाएको छ।