स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा बृहत् जुत्ता मेला २०८२ सुरु भएको छ।

“स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ माघ ७ गतेदेखि फागुन १७ गतेसम्म बिर्तामोड सिटी सेन्टरको खुला प्राङ्गणमा मेला सञ्चालन भइरहेको हो।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजनामा सुरु भएको मेलामा नेपालमै उत्पादित विभिन्न स्वदेशी ब्रान्डका गुणस्तरीय जुत्ताहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।

सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक दिपेन्द्र राउतका अनुसार स्थानीय तथा स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने र पछिल्लो समय थलिएको व्यवसायलाई चलायमान बनाउने उद्देश्यले अभियानस्वरूप जुत्ता मेला आयोजना गरिएको हो।

IMG_6544

मेलाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य सङ्घका विशिष्ट सदस्य निर्मल भट्टराई र बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईंले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रसाईंले निश्चित छुटका साथ गुणस्तरीय स्वदेशी जुत्ता उपलब्ध हुने भएकाले मेला उपभोक्ताका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि भट्टराईले स्वदेशी जुत्ता प्रयोग गरी स्थानीय उत्पादन प्रवर्धनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले राष्ट्रको समृद्धि अर्थतन्त्रसँग जोडिएकाले व्यवसाय चलायमान बनाउन उपभोक्ता स्वयं पनि सचेत हुन आवश्यक रहेको बताउनुभयो।

मेलामा अन्य स्थानको तुलनामा ५० प्रतिशतसम्म छुटमा गुणस्तरीय स्वदेशी ब्रान्डका जुत्ताहरू एकै स्थानमा उपलब्ध गराइएकाले उपभोक्ताहरूका लागि यो खुसीको खबर बनेको छ।

inbound940104436672969518

बृहत् जुत्ता मेलाका सञ्चालक सुमन नेपालीले स्वदेशी ब्रान्डको पहिचान गराउँदै उपभोक्तामा स्वदेशी उत्पादनप्रतिको आकर्षण बढाउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो।

स्वदेशी कम्पनीका ब्रान्ड मात्रै उपलब्ध भएकाले ठगीको सम्भावना नहुने र भारी छुटसमेत पाइने भएकाले मेला अवलोकन तथा खरिदका लागि उपस्थित हुन उहाँले सम्पूर्ण उपभोक्तालाई आग्रह गर्नुभएको छ।

कार्यक्रमको सहजीकरण बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक दिपेन्द्र राउतले गर्नुभएको थियो।