अबुधाबीमा युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता चलिरहेकै बेला युक्रेनका प्रमुख सहरहरूमा रूसी आक्रमण तीव्र बनेको छ। राजधानी किएभ र पूर्वी सहर खार्किभमा रातभरि भएको आक्रमणमा १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ। किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन्। किएभका मेयर भिताली क्लित्स्कोले टेलिग्राममार्फत “किएभमा ठूलो आक्रमण भइरहेको छ, कृपया आश्रयस्थलबाट बाहिर ननिस्कनुहोस्” भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

आक्रमणका कारण केही गैरआवासीय भवनमा क्षति पुगेको छ। ड्रोनका अवशेषले आगलागी गराएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ। किएभ क्षेत्रमा ४ जना थप घाइते भएका छन्।

पूर्वी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा इरानी निर्माणका शहेद ड्रोन प्रयोग गरी गरिएको आक्रमणबाट आवासीय भवनहरू क्षतिग्रस्त भएका छन्। मेयर इगोर तेरेखोवका अनुसार त्यहाँ १५ जना घाइते भएका छन् भने दुई स्वास्थ्य संस्था पनि आक्रमणबाट प्रभावित भएका छन्।

यी आक्रमणहरू त्यस्तो समयमा भएका हुन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारहरूले अबुधाबीमा चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पहिलो प्रत्यक्ष वार्ता गरेका थिए।

युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले भूमि विवाद अझै मुख्य अड्चन बनेको बताएका छन् भने मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दबाब दिइरहेको छ।