ग्रील तथा स्टील व्यवसायी संघ झापाको अध्यक्षमा खगेन्द्रप्रसाद प्रसाई सर्वसम्मत चयन भएका छन्।
संस्थाको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले प्रसाईंको अध्यक्षतामा झापा जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षहरूमा छत्रबहादुर खड्का, लक्ष्मी मण्डल, प्रकाश आचार्य, सचिवमा मेदनीप्रसाद प्रसाई , सहसचिवमा अनिल भट्टराई,कोषाध्यक्षमा माधवप्रसाद खतिवडा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा, धुर्बराज राई, हरिबहादुर विश्वकर्मा, भोलानाथ कडरीया, अमृत कटुवाल र अबिलाल राजवंशी चयन भएका छन् ।
ग्रील तथा स्टील व्यवसायी संघ झापाका अध्यक्ष तेजीन्द्रकुमार उप्रेतीको अध्यक्षता तथा ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिमल नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष केवल कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष तेजीन्द्रकुमार उप्रेतीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद खतिवडाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी नेपाल , निवर्तमान अध्यक्ष नवीन सेढाई, दमक ईकाई उपसमिति अध्यक्ष पोषण दाहाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाको श्रीबृद्दिमा योगदान पुर्याएको भन्दै पुराना ग्रील तथा स्टील व्यवसायी लक्ष्मी मण्डललाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लक्ष्मी गौतमले गरेका थिए ।

नयाँ कार्यसमितिको चयन गर्नका लागी लक्ष्मी गौतमको संयोजकत्वमा भानुभक्त कोइराला र पुरुषोत्तम खतिवडा सदस्य रहोको निर्वाचन समिति गठन गरिएको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खगेन्द्रप्रसाद प्रसाईले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए।
उनले ग्रील तथा स्टील व्यवसायी संघ झापामा तीन सय ५० भन्दा बढीको संख्यामा दर्ता भई सञ्चालनमा आएका ग्रील तथा स्टील व्यवसायी रहेको र प्रत्येक ग्रील व्यवसायबाट ५० जनासम्म बेरोजगार युवाहरुलाई रोजगार दिँदै आएको बताए ।

राज्यका तीनवटै तहले तोके अनुसार सरकारलाई कर तिर्दै आएका ग्रील व्यवसायीहरुवाट मुलुकको समृद्धिमा समेत थप टेवा पुगेको बताउँदै उनले दक्ष जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रको रुपमा सञ्चालित ग्रील तथा स्टील व्यवसायले काठको सामान प्रयोग गर्ने ठाउँमा फलाम तथा स्टीलबाट उत्पादित सामानका कारण वन विनाश कम हुनुका साथै वातावरणको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेकोे जनाए ।
मुलुकको समृद्धिका लागि हरेक हिसाबले महत्वपूर्ण भूमिका खेल्दै आएको ग्रील तथा स्टील व्यवसायप्रति सरकारको नीति स्पष्ट नभएका कारण दिनप्रतिदिन व्यवसाय असुरक्षित बन्दै आएको उनले बताए।
बिना दर्ता सञ्चालन गरिएका ग्रील तथा स्टील व्यवसायीको व्यवसायका कारण आफूहरू समस्यामा परेकाले सरकारले अनुगमन गरेर बिना दर्ता सञ्चालन गरिएका ग्रील तथा स्टील व्यवसायीहरूलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले आफ्नो कार्यकालमा बैज्ञानिक मूल्यसूची लागू गर्ने, ग्रील तथा स्टील व्यवसायीहरूको बीमा गर्ने, राहत कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन निर्बाचन समितिका संयोजक लक्ष्मी गौतमले गरेका थिए ।














