झापा, १३ माघ

निर्माणाधीन एसियन हाइवे परियोजनामा संलग्न एभ्रास्कन–कालिका जोइन्ट भेन्चरले आफूहरूमाथि लगाएको गुन्डागर्दीको आरोप झापाका युवाहरूले अस्वीकार गरेका छन्।

प्रभावित स्थानीय नागरिकको पक्षमा बोल्दा निर्माण कम्पनीले चरित्र हत्या गरेको आरोप लगाउँदै उनीहरूले पत्रकार सम्मेलनमार्फत स्पष्टिकरण दिएका हुन्।

पत्रकार सम्मेलनमा झापाका युवा राज आङदम्बे, सुरेश आले र राजेन्द्र उप्रेतीले मजदुरमाथि हातपात गरेको, गाडी कब्जा गरेको तथा काम अवरुद्ध पारेको भन्ने आरोप सरासर गलत भएको दाबी गरे।

स्थानीय नागरिकका गुनासा प्रशासनसम्म पुर्‍याउने बाहेक आफूहरूले कुनै अवाञ्छित गतिविधि नगरेको उनीहरूको भनाइ छ।

निर्माण कम्पनीले असुरक्षाको कारण देखाउँदै काम बन्द गरेको दाबी गरे पनि युवाहरूले भने प्रारम्भिक वातावरणीय प्रतिवेदन (IEE) नै नबनाई चुरे क्षेत्रजस्तो संवेदनशील भू–भागबाट अवैध रूपमा माटो उत्खनन् गरिएको विषयमा प्रश्न उठाउँदा आफूहरूलाई लक्षित गरी आरोप लगाइएको बताएका छन्।

एशियन हाइवे निर्माणका क्रममा मदन भण्डारी राजमार्ग तथा स्थानीय जनजीवनमा प्रत्यक्ष असर पर्ने गरी माटो उत्खनन् गरेर पुरुवा ओसार्ने काम भइरहेको देखेपछि प्रशासनलाई जानकारी गराइएको उनीहरूको भनाइ छ।

सोही क्रममा प्रहरीले अवैध माटोसहित सवारी साधन नियन्त्रणमा लिएको विषयलाई गलत ढंगले आफूहरूसँग जोडेर प्रचार गरिएको उनीहरूले आरोप लगाए।

“राष्ट्रिय गौरवको परियोजनाको नाममा स्थानीय नागरिकलाई असर पुग्ने काम हुनु हुँदैन,” उनीहरूले भने, “प्रशासनले समयमै नरोकेपछि नागरिकको हैसियतले खबरदारी गरेका हौं।”

युवाहरूले सम्बन्धित निकायको अनुमति बिना भइरहेको उत्खनन् तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा आवश्यक छानविन र दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्।