झापा, भरत प्रसाई । श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँड्दै आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुन्दै गरेका १५ जना जेनजी युवालाई सम्मान गर्दै लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागेजिन सार्वजनिक गरेको छ।
नयाँ पुस्ताका युवाहरूलाई ‘गरिखाने हिरो’का रूपमा चिनाउने र उनीहरूको संघर्ष, सिर्जना तथा उपलब्धिलाई समाजसमक्ष उजागर गर्ने उद्देश्यले यो अभियान थालनी गरिएको हो। अभियानको नेतृत्व अग्रज पत्रकार मोहन काजी र अम्बिका भण्डारीले गर्नुभएको हो। उनीहरूले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले म्यागेजिन प्रकाशन गरिएको बताउनुभएको छ।
म्यागेजिनमा समेटिएका युवाहरू फरक–फरक क्षेत्रबाट आएका भए पनि उनीहरूलाई जोड्ने साझा सूत्र भनेको श्रम, आत्मनिर्भरता र निरन्तर संघर्ष हो। डिजिटल क्षेत्रदेखि खेलकुद, चिकित्सा, उद्यम, कला, नवप्रवर्तन, पर्वतारोहण, वातावरण संरक्षण र सामाजिक सेवासम्म उनीहरूको योगदान उल्लेखनीय रहेको छ।
विर्तामोड–१ नमुना टोलकी स्वेता बुढाथोकी डिजिटल दुनियाँमा सक्रिय कन्टेन्ट क्रिएटर हुन्। ‘कता खाने’ नामक फुड भ्लगिङमार्फत उनी डिजिटल मार्केटिङ क्षेत्रमा सफल पहिचान बनाइरहेकी छन्। बुद्धशान्ति–३ का कृपेश कार्की भने वन्यजन्तु संरक्षणमा समर्पित युवा हुन्। उनले हालसम्म ४ सयभन्दा बढी सर्पको उद्धार गरिसकेका छन् भने ‘क्यान्टर्स कुक्री’ नामक दुर्लभ सर्प नेपालमा पहिलोपटक भेट्टाएर संरक्षण क्षेत्रमा ऐतिहासिक योगदान दिएका छन्।
शिवसताक्षी–८ झिलझिलेकी १५ वर्षीया कृपा चापागाई कराते खेलाडी हुन्। भारतमा भएको इन्डो–नेपाल इन्टर स्कुल कराते प्रतियोगितामा च्याम्पियन बनेकी उनले कोशी प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाका प्रतिस्पर्धीलाई हराउँदै प्रथम स्थान हासिल गरेकी छन्। गौरादह–१ का डा. सीआर (चेवन) कार्की भने चिकित्सा क्षेत्रमा अग्रणी नाम हुन्।
पूर्णटुंग विर्तासिटी अस्पतालमा कार्यरत उनी ‘जीवन रक्षा होम केयर’का संस्थापक सीईओ तथा फ्रन्टलाइन डक्टर्स नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष हुन्। उनले अमेरिकी विश्वविद्यालयबाट वाइल्डरनेस मेडिसिनमा फेलोसिप समेत हासिल गरेका छन्।
भद्रपुर–९ चन्द्रगढीकी रचना रिमाल कम उमेरमै नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम बनेकी छन्। २३ वर्षको उमेरमै उनले २ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।
बुद्धशान्ति–१ बुधवारेका १८ वर्षीय सबिन बाँस्कोटा नवप्रवर्तनशील विद्यार्थी हुन्। उनले हवाइजहाज, वाकीटकी, विद्युतीय बाइक, सेन्सर धारा, मिनी एसीजस्ता विभिन्न आविष्कार गरेर सबैको ध्यान खिचेका छन्।
दमक भालुखोलाका अशोक दर्जी संघर्षबाट सफलताको शिखरसम्म पुगेका कलाकार हुन्। सडकमा गीत गाएर जीवन गुजारा गर्दै आएका उनी आज ‘मन बिनाको धन’ चलचित्रका नायक बनेका छन्। विर्तामोड–१ की कृपा ढकाल उद्यमशील महिलाको उदाहरण बनेकी छन्। गणपति बेकरीकी अपरेसन इञ्चार्जका रूपमा उनले ५० जनालाई रोजगारी दिएकी छन्, जसमा अधिकांश महिला छन्। बिर्तामोड, काँकरभिट्टा र भद्रपुरमा उनका आउटलेट सञ्चालनमा छन्।
मेचीनगर–१३ पुरानो धाइजनका हरिकृष्ण भण्डारी धार्मिक अभियन्ता तथा युवा पुराण बाचक हुन्। पूर्वीय दर्शनका अध्येता उनी विभिन्न एफएम र टेलिभिजनमा पत्रकारका रूपमा पनि सक्रिय छन्। मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहाल पर्वतारोहणमा जुटेका युवा हुन्। उनी सगरमाथाको फोर्थ क्याम्पसम्म पुगिसकेका छन् भने लोबुचे पिक तीन पटक र आइसल्यान्ड पिक चार पटक आरोहण गरिसकेका छन्।
शिवसताक्षी–११ झिलझिलेका अनन्त तामाङ राष्ट्रिय फुटबल टोलीका सदस्य हुन्। डिफेन्स लाइनको नेतृत्व गर्दै उनले ७१ क्याप पूरा गरेका छन् र नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। दमकमा बसोबास गर्दै आएकी जलवायु अभियन्ता तनुजा पाण्डे जेनजी आन्दोलनकी प्रमुख नेतृमध्ये एक हुन्। अन्तर्राष्ट्रिय मिडियामा चर्चित उनी हालै अस्ट्रेलियामा आयोजित उच्चस्तरीय फोरममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन्।
भद्रपुर–८ का अंकित सुबेदी क्रिकेटर हुन्। कोशी प्रदेश क्रिकेट टोलीका कप्तान रहेका उनले राष्ट्रिय प्रतियोगितामा शानदार शतक प्रहार गर्दै ‘रन मेसिन’को उपनाम पाएका छन्। मेचीनगर, भद्रपुर र विर्तामोडका राहुल बिष्ट, तेज मगर र उत्सव दाहालले विकास गरेको ‘वाइफाई थिप डिटेक्टर’ एप इजरायलको राउन्डस् एआई लिमिटेडले १३ लाख रुपैयाँमा खरिद गरेको छ, जसले नेपाली युवाको प्रविधिगत क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ।
त्यसैगरी बाह्रदशी–६ की मनिषा राजबंशी कला र मोडलिङ क्षेत्रमा सक्रिय छिन्। सन् २०२४ मा थाइल्यान्डमा सम्पन्न ‘हेरिटेज पेटाइट युनिभर्स’ प्रतियोगितामा ४४ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले विजेताको ताज जितेकी छन्।
‘पौरखी जेनजी’ म्यागेजिनले यी युवाहरूको संघर्ष, मेहनत र सफलताको कथालाई एकै ठाउँमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई स्वदेशमै सम्भावना खोज्न प्रेरणा दिएको आयोजकको विश्वास छ।














