संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका आयोजना प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रको वर्तमान अवस्था, संस्थाको प्रगति र भावी योजनामाथि गहन छलफल गरिएको थियो।

उहाँले संस्थाको भौतिक संरचना, सेवा विस्तार, आर्थिक अनुशासन तथा व्यवस्थापकीय सुधारका विषयमा समेत जानकारी गराउनुभएको थियो।
त्यसैगरी कोषाध्यक्ष प्रेमप्रसाद भण्डारीले संस्थाको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज बोहोराले संस्थाको वित्तीय पारदर्शिता र सुशासनसम्बन्धी विषय समेटिएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत प्रतिवेदनहरूमाथि साधारणसभामा सहभागी सदस्यहरूबीच छलफल गरी पारित गरिएको थियो।
साधारणसभाको अवसरलाई स्मरणीय बनाउँदै चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषको तर्फबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार वितरण कार्यक्रम समेत भव्य रूपमा सम्पन्न भयो।
अक्षयकोषबाट यस वर्ष जिल्लास्तरीय उत्कृष्ट पत्रकारका रूपमा कन्काई खबरका सम्पादक रामप्रसाद निरौला, उत्कृष्ट विद्यार्थीका रूपमा कन्काई माध्यमिक विद्यालयका सुसल रसाइली र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयकी अंकिता दवाडी, उत्कृष्ट कृषकका रूपमा कविता घिमिरे बस्नेत तथा उत्कृष्ट बुहारीका रूपमा पुजन बाँस्तोला बारकोटीलाई जनही ५१ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
उक्त पुरस्कार चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषका संरक्षक चिरञ्जीवी उप्रेती, ईश्वरादेवी उप्रेती तथा अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीलगायतले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।
कलमलाई केवल पेशा मात्र नभई समाज परिवर्तनको प्रभावकारी माध्यम बनाउँदै करिब दुई दशकदेखि पत्रकारितामा निरन्तर समर्पित पत्रकार रामप्रसाद निरौलालाई श्री भवानी हेमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता सामुदायिक संस्थाको नवौँ वार्षिक साधारणसभाको अवसरमा ‘जिल्ला उत्कृष्ट पत्रकार’का रूपमा सम्मान गरिएको छ ।
२०६५ सालदेखि जनसंसद दैनिकबाट पत्रकारितामा प्रवेश गरेका कन्काई नगरपालिका–७ निवासी निरौला हाल कन्काई खबर डटकम अनलाइन तथा कन्काई खबर साप्ताहिकका प्रकाशक एवं सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
उहाँले जनसंसद दैनिक, कञ्चनजङ्घा एफएम, सूर्योदय टेलिभिजन तथा राष्ट्रिय समाचारसहित विभिन्न सञ्चार माध्यममा निष्पक्ष र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आउनुभएको छ।
कन्काई सुरुङ्गाका प्रेस क्लबका निवर्तमान अध्यक्षसमेत रहिसक्नुभएका निरौला पिता टिकाराम निरौला र स्वर्गीय माता हेमकला निरौलाका सुपुत्र हुनुहुन्छ।
श्रीमती शान्ता, छोरा सार्थक र छोरी समृद्धासहित पारिवारिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई समान महत्व दिँदै आउनुभएको उहाँको जीवन यात्राले धेरै युवापुस्तालाई प्रेरणा दिएको छ।
पत्रकारितासँगै नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद् सदस्य, प्रेस चौतारी झापाका सहसचिव, पतञ्जली योग कन्काई नगर समितिका अध्यक्ष, कन्काई खेलकुद प्रतिष्ठानका सचिव, सुरुङ्गा जेसिस तथा रोटरी क्लब अफ सुरुङ्गालगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै उहाँले पेशागत हकहित, मानवीय मूल्य र सामाजिक सेवामा पुर्याएको योगदान उल्लेखनीय रहेको संस्थाले जनाएको छ।
साथै संस्थापक अध्यक्ष तथा जग्गादाता चिरञ्जीवी उप्रेती, तदर्थ समितिका अध्यक्ष गोपाल उप्रेती, उपाध्यक्ष सम्झना श्रेष्ठ, सचिव तुलाराम बस्नेत, सदस्यहरू निर्मला कार्की डोली, कमला सिटौला, लिलाबल्लभ सुवेदी, स्वर्गीय दीर्घ थापा, संस्थापक उपाध्यक्ष स्वर्गीय डिल्लीराम उप्रेती, सचिव जीवनकुमार श्रेष्ठ, सदस्य खिनमाया बस्नेत, पूर्व सचिव अनुप ओली, सदस्य हरिप्रसाद शिवाकोटी, रेखा राजवंशी, सुफल मुर्मू, तारा खतिवडा अधिकारी, पूर्व सदस्य बालकृष्ण सिटौला, शम्भुप्रसाद पोखरेल, भक्तबहादुर घतानी, प्रह्लाद घिमिरे, रमेश श्रेष्ठलगायत विभिन्न व्यक्तित्वहरूलाई संस्थाको विकास र योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
सम्मानितहरूको तर्फबाट मन्तव्य राख्दै उत्कृष्ट पत्रकार रामप्रसाद निरौलाले आफूलाई प्रदान गरिएको सम्मान जीवनकै अत्यन्तै भावुक र गौरवपूर्णक्षण भएको बताउँदै इमानदार, मर्यादित र उत्तरदायी पत्रकारिताको मूल्यलाई आत्मसात् गर्दै समाजको सत्य आवाज उजागर गर्न अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे तथा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले संस्थाको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्दै यस्ता सामुदायिक संस्थाहरूले स्थानीय विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामगोपाल ओलीले गर्नुभएको थियो।
शिक्षण पेशासँगै विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय निरौलाले निष्पक्ष, निष्ठावान र व्यवसायिक पत्रकारितालाई आफ्नो पहिचान बनाउँदै आएका छन्।
श्री भवानी हेमादेवी खानेपानी संस्थाको सुदृढीकरण र उन्नयनमा पत्रकारिताको माध्यमबाट पुर्याएको सकारात्मक भूमिकाको कदरस्वरूप उहाँलाई उत्कृष्ट पत्रकारका रूपमा सम्मान गरिएको चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो।
सत्यको पक्षमा अडिग रहँदै समाजका आवाजलाई जिम्मेवारीपूर्वक उजागर गर्ने पत्रकारको यात्रालाई गरिएको यो सम्मानले कलमको शक्ति अझै जीवित छ भन्ने सन्देश दिएको छ ।














