बिर्तामोड । भरत प्रसाई ,
मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ।
यो संस्करणलाई प्रतियोगिताको ऐतिहासिक सफलता र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्व अध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको छ।
यस वर्षको प्रतियोगिता *“एक्सट्रिम सातौं झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता”*का रूपमा आयोजना गरिने भएको हो।
प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्सट्रिम ईनर्जी ड्रिंक्स’ रहेको छ। आज आयोजित विशेष कार्यक्रमका बीच साइनिङ सेरेमोनी सम्पन्न गरिएको हो।

२०७२ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको झापा गोल्डकपले काठमाडौँ बाहिर सबैभन्दा बढी फुटबल गतिविधि हुने जिल्लाका रूपमा चिनिएको झापा जिल्लालाई फुटबलको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको झापा गोल्डकपले जनाएको छ।
विगतमा देशभित्र तथा मुलुक बाहिरसमेत घरेलु टिम झापा–११ फुटबल क्लबको विकास र प्रवर्धनसँगै प्रतियोगितालाई निरन्तरता दिन सबै पक्षको उल्लेख्य भूमिका रहेको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रुपैयाँ तथा उपविजेता टिमले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै मोस्ट भ्यालुएबल प्लेयर लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
दाताबाट प्राप्त सहयोगअनुसार प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
विधागत पुरस्कारको सौजन्य अमेरिकी निवासी रोशन लाल श्रेष्ठसहितको टिमले गरेको हो।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा–११ सहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, मच्छिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल, पोखरा रोयल, थिम्पु कलेज (भुटान) तथा एन पेनाङ एफसी (मलेसिया) लगायतका टिमहरूको सहभागिता रहनेछ।
आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै झापा गोल्डकपका महासचिव बुद्ध तामाङले एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिनुभयो।
यस वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। झापाको प्रतिष्ठासँग जोडिएको यस प्रतियोगितालाई सफल बनाउन झापाली आम नागरिक, व्यावसायिक पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई सामाजिक उत्तरदायित्वका रूपमा सहयोग गर्न आयोजकले हार्दिक अपिल गरेको छ।
अध्यक्ष गिरीले सम्पूर्ण तयारी पूरा भइसकेको र प्याराफिटसहित खेलमैदान व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो।

कार्यक्रमकै अवसरमा न्युटन्स एजुकेसन एकेडेमीले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता सम्पन्न गर्न १ लाख रुपैयाँ सहयोग रकम झापा गोल्डकपलाई हस्तान्तरण गरेको छ।
उक्त रकम झापा खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई चेकमार्फत हस्तान्तरण गर्नुभएको थियो।
अध्यक्ष गिरीले प्रतियोगिताको अवधिमा ५० हजारभन्दा बढी घरेलु दर्शकले खेल अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो।
उहाँले खेलमैदान मर्मतको काम अन्तिम चरणमा पुगेको तथा बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको र मञ्च सजावट बाहेकको सम्पूर्ण तयारी पूरा भइसकेको झापा गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।














