बुद्धशान्ति  । भरत प्रसाई , झापाको बुद्धशान्ति गाउँपालिकामा सम्पन्न तेस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ ले हात पारेको छ।

बुद्धशान्ति गाउँपालिका वडा नं. २ खेलकुद विकास समितिको आयोजनामा तथा नवज्योति युवा क्लब बुद्धशान्ति–२ को सहआयोजनामा जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं. ३ ले वडा नं. १ लाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

IMG_7277

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा वडा नं. ३ का लागि विजय राई र पुजन नेम्बाङले एक–एक गोल गरेका थिए भने वडा नं. १ का राहुल लिम्बूले एक गोल फर्काएका थिए।

खेल अवधिभर दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि अन्तिम समयमा वडा नं. ३ ले अग्रता जोगाउँदै उपाधि आफ्नो पक्षमा पारेको सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति–२ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए।

IMG_7293

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ३ का पुजन नेम्बाङ खेलको म्यान अफ द म्याच घोषित भएका छन्। बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका सदस्य गोकुल पौडेलका अनुसार नेम्बाङले आक्रमण र टिम समन्वय दुवैमा प्रभावशाली खेल प्रस्तुत गरेका थिए।

IMG_7378

बुद्धशान्ति गाउँपालिकाको प्रायोजन तथा गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा आयोजना गरिएको प्रतियोगिता गत माघ १० गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न वडाहरूको सहभागिता रहेको थियो।

IMG_7356

प्रतियोगिताको विजेता वडा नं. ३ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. १ ले नगद २५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको आयोजक वडा नं. २ का टिम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।

IMG_7352

समापन कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एन्फा रेफ्री खेमराज श्रेष्ठ रामलाई सम्मान गरिएको थियो। साथै प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

IMG_7296कार्यक्रममा उत्कृष्ट गोलकिपर वडा नं. ३ का रिजन लुहागुन, उत्कृष्ट डिफेन्डर वडा नं. १ का धिरज मगर, पहिलो गोलकर्ता वडा नं. १ का राहुल लिम्बू तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी वडा नं. ४ का आयुस राईलाई जनही नगद दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. २ का समिर धिमाल घोषित हुँदै नगद छ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

बुद्धशान्ति–२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले लगायतले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रमको सञ्चालन बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका सदस्य गोकुल पौडेलले गरेका थिए।