हल्दीबारी । भरत प्रसाई,
पछिल्लो समय पर्यटकीय क्षेत्र झापामा नेपाली चलचित्रहरूको छायांकन तीव्र बन्दै गएको छ। यही क्रममा सुनौलो तारा मोसन पिक्चरको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘तिलस्मी’ को शुभमुहूर्त गरिएको छ।
बिहीबार एक कार्यक्रमका बीच झापाको हल्दीबारी गाउँपालिका–१ गोल्धापस्थित ऐतिहासिक सिंहबाहिनी मन्दिरमा पूजाआजा सहित चलचित्रको छायांकन सुरु गरिएको घोषणा गरिएको हो।
धार्मिक विधिपूर्वक शुभारम्भ गरिएको यस चलचित्रको छायांकन पूर्वका विभिन्न आकर्षक पर्यटकीय स्थलहरू—कन्याम (इलाम) लगायत झापा, इलाम तथा काठमाडौँका सुन्दर स्थानहरूमा गरिने निर्माण टिमले जनाएको छ।
चलचित्रका निर्माता तथा निर्देशक तारा अधिकारीले कथा लेखन गर्नुभएको छ। चलचित्रमा पटकथा तथा संवाद बाबुराम निरौलाको रहेको छ। ‘तिलस्मी’ मा महेश खड्का, जान्मी बस्नेत, सुनिसा बजगाईं, रश्मी भट्ट, भविष्य कार्की, आर्जे सिंहलगायत कलाकारहरूको अभिनय रहनेछ।
चलचित्र युनिटका अनुसार ‘तिलस्मी’ मा पारिवारिक कथावस्तु समावेश गरिएको छ, जसले दर्शकको मन छुने विश्वास लिइएको छ। लेखक तथा निर्देशक अधिकारीका अनुसार चलचित्रले भावनात्मक सम्बन्ध, समसामयिक विषयवस्तुलाई सशक्त ढंगले उठान गर्नेछ।
शुभमुहूर्त कार्यक्रममा उपस्थित कलाकारहरू महेश खड्का, जान्मी बस्नेत, सुनिसा बजगाईं, भविष्य कार्की र आर्जे सिंहलगायतले चलचित्र उत्कृष्ट बन्ने र दर्शकले मन पराउनेमा आफूहरू पूर्ण रूपमा ढुक्क रहेको प्रतिक्रिया दिएका थिए।
चलचित्रको छायांकन विनोद बलले गर्नेछन्। निर्माता अधिकारीले यसअघि दर्जनौँ म्युजिक भिडियो निर्देशन गरिसक्नुभएको अनुभव रहेको बताउँदै धेरै गीत निर्देशनपछि ‘तिलस्मी’ मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्न लागेको जानकारी दिनुभयो। दर्शकले खोजेअनुरूपको गुणस्तरीय चलचित्र निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको उहाँको भनाइ छ।
पर्यटकीय सौन्दर्य, पारिवारिक भावनात्मक कथा र सशक्त प्रस्तुतीकरणको संयोजनका कारण चलचित्र ‘तिलस्मी’ ले नेपाली चलचित्र प्रेमी दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।














