भद्रपुर । भरत प्रसाई ,
झापाको भद्रपुरमा बहुप्रतीक्षित कोशी पाथिभरा टि–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट मैदान (एमसिजी) मा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिइएको हो।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगिता माघ २१ गतेदेखि २९ गतेसम्म मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता लिग ढाँचामा सञ्चालन गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद मैत्री सम्बन्ध तथा सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक मनोज सुब्बा गौरवले नेपाल तथा भारतका विभिन्न राज्यबाट सहभागी टिमहरूमा चर्चित तथा अनुभवी खेलाडीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
संयोजक सुब्बाले मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, एम्पायरिङ, स्वास्थ्य सेवा, खेलाडीको आवास तथा यातायात व्यवस्थापनलगायत प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। प्रतियोगिता अवधिभर दर्शकका लागि सुरक्षित र व्यवस्थित वातावरण सुनिश्चित गरिने उहाँको भनाइ छ।

प्रतियोगितामा नेपालका चार र भारतका चार गरी जम्मा ८ टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
त्यसैगरी प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही नगद २५ हजार, उदयमान खेलाडीलाई नगद ११ हजार, तथा प्रतियोगिताको म्यान अफ दि सिरिजलाई नगद ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार आठ टिमलाई दुई समूहमा विभाजन गरी लिग चरणका खेलहरू सञ्चालन गरिनेछ। उहाँले क्रिकेट केवल खेल मात्र नभई युवाबीचको मैत्री, अनुशासन र सामाजिक एकताको सशक्त माध्यम भएको बताउनुभयो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले झापाकै गौरवका रूपमा रहेको यस प्रतियोगितालाई सबैले आफ्नो अपनत्वका साथ सहयोग गर्न अपिल गर्नुभयो।
पत्रकार सम्मेलनमा संयोजक सुब्बाले कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दानवीर समाजसेवीहरूको सहयोगमा करिब ६० लाख रुपैयाँ लागतमा पिच निर्माण तथा स्तरीकरण कार्य सम्पन्न भएको जानकारी दिनुभयो। प्रतियोगिता सञ्चालनका लागि ओमसाई तथा सौर्य एयरको तर्फबाट अध्यक्ष दीपक पोखरेलले विशेष सहयोग गरेको पनि जनाइएको छ।

अध्यक्ष पराजुलीले ऐतिहासिक सहर भद्रपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन गइरहेकाले यसले भद्रपुरलाई खेलकुद सहरको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै नेपाल–भारत खेलकुद सम्बन्ध अझ प्रगाढ हुने उहाँको दाबी छ।
कार्यक्रममा झापा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, स्थानीय सामाजिक व्यक्तित्व तथा क्रिकेटप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा प्रतियोगिताका प्रेस संयोजक गोपाल गिरीले गर्नुभएको थियो।














